काठमाडौं: दसैँ र तिहारलाई लक्षित गरी दाङको घोराहीमा सञ्चालन गरिएको सुपथ मूल्य पसलमा उपभोक्ताको चाप बढेको छ। साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड दाङ शाखाले असोज १ गतेदेखि घोराही उपमहानगरपालिका-१५ मा सञ्चालन गरेको पसलबाट २० दिनको अवधिमा २७ लाख ५५ हजार २२० रुपियाँ बराबरको चिनी र नुन बिक्री भएको छ।
शाखा प्रमुख रामबाबुप्रसाद गुप्ताका अनुसार सो अवधिमा २३ हजार ७७१ किलो चिनी र १५ हजार ७५५ किलो नुन बिक्री भएको छ। जसमध्ये चिनीको मूल्य २३ लाख ७७ हजार १०० रुपियाँ र नुनको मूल्य ३ लाख ७८ हजार १२० रुपियाँ रहेको छ। पसलमा दैनिक छदेखि सात सय उपभोक्ता आउने गरेका छन्।
सुपथ मूल्य पसलमा चिनी प्रतिकिलो सय रुपियाँ र नुन प्रतिकिलो २४ रुपियाँमा बिक्री भइरहेको छ। बजार मूल्यको तुलनामा दुवै वस्तुमा प्रतिकिलो पाँच रुपियाँ छुट दिइएको छ। एक उपभोक्ताले बढीमा पाँच किलो चिनी र छ किलो नुन खरिद गर्न पाउने व्यवस्था छ। कात्तिक १ गतेसम्म सञ्चालन हुने सो पसल सार्वजनिक बिदाबाहेक कार्यालय समयमा खुला रहनेछ।
यद्यपि, उपभोक्ताहरूले चिनी र नुनमा मात्र नभई चामल, दाल, खानेतेल र पिठो जस्ता अन्य दैनिक उपभोग्य वस्तुमा पनि छुटको माग गरेका छन्। स्थानीय सीता रावतले चाडपर्वको खर्च व्यवस्थापन गर्न अन्य खाद्यवस्तुमा पनि सहुलियत आवश्यक रहेको बताउनुभयो।
