काठमाडौं: दसैँ नजिकिएसँगै सुनसरीको इनरुवा-३ स्थित सोमबारे हाटमा खसीबोका खरिद गर्नेहरूको ठुलो भीड लागेको छ। दसैँको घटस्थापनाको भोलिपल्ट सोमबार जिल्लाका विभिन्न पालिकाबाट सर्वसाधारण खसीबोका खरिद गर्न हाट पुगेका हुन्।
हाटमा बिक्रीका लागि ल्याइएका साना पाठापाठीको मूल्य दुई हजारदेखि तीन हजार रुपैयाँसम्म तोकिएको छ भने ठुला खसीबोकाको मूल्य ५० हजार रुपैयाँसम्म पुगेको छ। दसैँका लागि आवश्यक खसीबोका खरिद गर्न बिहानैदेखि सर्वसाधारणको उपस्थिति बाक्लिएपछि बजारमा चहलपहल बढेको छ।
नेपाली समाजमा दसैँका अवसरमा मासु खाने प्रचलन रहेकाले यो समयमा खसीबोकाको माग उच्च हुने गर्छ। दसैँको महाअष्टमी तथा महानवमीका दिन नवदुर्गा भवानीलाई खसीबोकाको बलि चढाउने धार्मिक परम्परासमेत छ। यही परम्परा र पारिवारिक जमघटका लागि मासुको जोहो गर्न सर्वसाधारण दसैँअघि नै खसीबोका खरिदमा जुटेका हुन्।
