काठमाडौं। नेपालको पुँजीबजारमा पछिल्लो समय वियरिस ट्रेन्ड देखिएको छ। २०७८ असार मसान्तमा २८८३.३८ विन्दुमा रहेको नेप्से सूचक अहिले २५९१.८० अंकमा झरेको छ। बजारमा पर्याप्त तरलता र घटेको ब्याजदरका बावजुद सेयर बजारले अपेक्षित गति लिन सकेको छैन।
नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकालका अनुसार नियामक निकाय धितोपत्र बोर्डको अस्थिर नीति, लगानीकर्ताको त्रास, प्राकृतिक विपत्ति र चाडबाड लक्षित आर्थिक दबाबले बजारलाई प्रभावित पारेको छ।
भदौ महिनामा बोर्डले जारी गरेको सेयर बिक्रीसम्बन्धी निर्देशनले लगानीकर्तामा अन्योल र त्रास सिर्जना गरेको थियो, जसलाई पछि सच्याइए पनि बजारको मनोबलमा नकारात्मक असर परेको छ। हाल बैंक तथा वित्तीय संस्थामा १६ खर्ब रुपैयाँभन्दा बढी लगानीयोग्य पुँजी थुप्रिएको छ र सेयर कर्जाको ब्याजदर ५.५ देखि ६ प्रतिशतको हाराहारीमा छ।
यद्यपि, असोज मसान्तको किस्ता भुक्तानी र चाडपर्वको खर्च जुटाउन लगानीकर्ताहरूले सेयर बिक्री गर्दा बजारमा सेलिङ प्रेसर बढेको छ। यसका अतिरिक्त, हालैका बाढी र पहिरोले जलविद्युत् आयोजनाहरूमा पुर्याएको क्षतिले उत्पादन र आम्दानीमा असर गरेको छ, जसको प्रत्यक्ष प्रभाव जलविद्युत् र निर्जीवन बीमा कम्पनीहरूको सेयर मूल्यमा परेको छ।
बजार विश्लेषक मुक्ति अर्यालका अनुसार समस्या सूचकमा भन्दा पनि नीतिगत संरचनामा छ। उनले नीतिगत स्थिरता, खुला बजार नीति, आधुनिक औजारहरूको प्रयोग र निष्पक्ष बजार निर्माणमा जोड दिएका छन्।
अर्का जानकार देव गुरागाइँका अनुसार नेप्से सूचक गणनामा नयाँ कम्पनीहरूको प्रभावले गर्दा वास्तविक गिरावट लुकेको हुन सक्छ। बजार सुधारका लागि समग्र अर्थतन्त्रको पुनरुत्थान र सरोकारवालाहरूसँगको पर्याप्त छलफलपछि मात्र नीतिगत निर्णय लिनुपर्ने विज्ञहरूको सुझाव छ।
