धनगढी: सुदूरपश्चिम प्रदेश सभाले चालु आर्थिक वर्ष २०८३/०८४ का लागि सरकारले पेस गरेको बजेट पारित गरेको छ। आर्थिक मामिला तथा योजना मन्त्री चक्रबहादुर मल्लले पेस गरेको ३७ अर्ब ७० करोड ३९ लाख ६७ हजार रुपैयाँको बजेट प्रतिपक्षी नेपाली कांग्रेसको बहिष्कारका बीच पारित भएको हो।
कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले प्रतिपक्षसँग आवश्यक समन्वय नगरी एकलौटी रूपमा बजेट ल्याइएको भन्दै बैठक बहिष्कार गरिएको जानकारी दिए। बजेटलाई लिएर सत्तारूढ दल नेकपाभित्रै पनि तीव्र असन्तुष्टि देखिएको थियो। विवादित विषयमा छानबिन गर्न संसदीय समिति गठन गर्ने र पछि पूरक बजेट ल्याउने सहमति भएपछि मात्रै सत्तारूढ दलभित्र बजेट पारित गर्ने वातावरण बनेको हो।
सभामुख भीमबहादुर भण्डारीले प्रदेश सभामा जानकारी गराएअनुसार कात्तिक २० गतेभित्र प्रतिवेदन पेस गर्ने गरी सात सदस्यीय संसदीय छानबिन समिति गठन गरिनेछ। उक्त समितिको प्रतिवेदनका आधारमा पूरक बजेट ल्याइने छ। नेकपाका सांसद नरेशकुमार शाहीले बजेट वितरणमा कमिसनको आरोप लगाउँदै छानबिन समितिको माग गरेका थिए। उनले जनताको राजस्व कमिसनमा खर्चिन नपाइने बताए।
आर्थिक मामिला तथा योजना मन्त्री मल्लले छानबिन गरी त्रुटि सच्याउन सरकार तयार रहेको बताए। उनले छुटेका योजना समेट्न पूरक वार्षिक पुस्तिका ल्याउने समझदारी मन्त्रिपरिषद्मा भइसकेको स्पष्ट पारे। बजेट पारित भएसँगै प्रदेशमा तीन महिनादेखि कायम रहेको बजेट शून्यताको अवस्था हटेको छ। यसअघि कमलबहादुर शाह नेतृत्वको सरकारले ल्याएको बजेट सत्ता साझेदार एमालेसँगको विवादका कारण पारित हुन सकेको थिएन, जसले गर्दा सो सरकार ढलेको थियो। त्यसपछि नेकपाका खगराज भट्टको नेतृत्वमा नयाँ सरकार गठन भएको हो।
