काठमाडौं। चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो दुई महिनामा वाणिज्य बैंकहरुले १७ अर्ब ८१ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका छन्।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार साउन र भदौ महिनामा बैंकहरुको नाफा गत वर्षको सोही अवधिको तुलनामा ७.३२ प्रतिशतले बढेको हो। गत आर्थिक वर्षको दुई महिनामा बैंकहरुले १६ अर्ब ५९ करोड रुपैयाँ नाफा कमाएका थिए।
यस अवधिमा १३ वटा बैंकको नाफा बढेको छ भने ७ वटा बैंकको नाफामा गिरावट आएको छ। प्रतिशतका आधारमा हिमालयन बैंकको नाफा सबैभन्दा बढी ५५.१३ प्रतिशतले वृद्धि भएको छ।
चालु आर्थिक वर्षको दुई महिनामा सबैभन्दा धेरै नाफा कमाउनेमा नबिल बैंक रहेको छ। नबिल बैंकले १ अर्ब ८० करोड रुपैयाँ खुद नाफा कमाएको छ।
त्यसैगरी, ग्लोबल आइएमई बैंक १ अर्ब ६९ करोड रुपैयाँ नाफासहित दोस्रो स्थानमा छ। प्राइम कमर्सियल बैंक १ अर्ब १४ करोड रुपैयाँ नाफासहित तेस्रो स्थानमा रहँदा राष्ट्रिय वाणिज्य बैंकले १ अर्ब ११ करोड रुपैयाँ नाफा आर्जन गरेको छ।

