काठमाडौं। लोकप्रिय गायक तथा संगीतकार अमृत क्षेत्रीको शब्द, संगीत र स्वरमा तयार भएको लोक–आधुनिक गीत ‘लालुपाते’ सार्वजनिक भएको छ। चर्चित गायिका शान्तिश्री परियार र अमृत क्षेत्रीको सुमधुर स्वर रहेको उक्त गीत सुरशाला Surshala YouTube Channel मार्फत सार्वजनिक गरिएको हो।
गीतमा नरेन्द्र वियोगीको एरेन्जमेन्ट रहेको छ भने म्युजिक भिडियोको निर्देशन निकेश खड्काले गरेका छन्। भिडियोमा लोकप्रिय अभिनेत्री अञ्जली अधिकारी, नवकलाकार नयन क्षेत्री र अम्बिका क्षेत्रीको अभिनय देख्न सकिन्छ। यस गीतको म्युजिक भिडियो नयन क्षेत्रीको पहिलो डेब्यु भिडियोसमेत बनेको छ।
गायक तथा संगीतकार अमृत क्षेत्री नेपाली सांगीतिक क्षेत्रमा लामो समयदेखि सक्रिय छन्। उनको पहिलो एल्बम ‘अराइभल’ मा समावेश ‘त्यो दिन आएन जोगी’, ‘मैले हेर्ने एउटा तारा’, ‘तिमी हौ’, ‘चल्छ नेपालमा’, ‘मग मग’, ‘जहाजै चढेर’, ‘घाम र जुन’ र ‘मैना चरी’ लगायतका गीतले चर्चा कमाएका थिए।
क्षेत्री विगत २२ वर्षदेखि सुरशाला म्युजिक एकेडेमीका संस्थापक अध्यक्ष तथा संगीत प्रशिक्षकका रूपमा कार्यरत छन्। उनले प्रशिक्षण दिएका विद्यार्थीहरूले नेपाल तथा भारतका विभिन्न चर्चित रियालिटी शोहरूमा सहभागी भएर आफ्नो प्रतिभा प्रस्तुत गर्दै आएका छन्। उनका विद्यार्थीहरूले विभिन्न सांगीतिक मञ्चमा प्राप्त गरेको सफलताले पनि उनको संगीत प्रशिक्षणको यात्रालाई थप परिचित बनाएको छ।
यसैबीच, गायक क्षेत्रीले दशैंलगत्तै अर्को लोकशैलीको गीत सार्वजनिक गर्ने तयारीसमेत गरिरहेका छन्। ‘लालुपाते’ मार्फत लोक–आधुनिक संगीतमा नयाँ प्रस्तुति दिएका क्षेत्रीको आगामी सांगीतिक योजनालाई श्रोताहरूले चासोका साथ हेर्ने अपेक्षा गरिएको छ।
