काठमाडौं: दसैँ नजिकिएसँगै भक्तपुरको सल्लाघारीमा मुस्ताङबाट ल्याइएका च्याङ्ग्राको बिक्री सुरु भएको छ। दसैँमा च्याङ्ग्राको मासु खाने परम्परालाई लक्षित गर्दै व्यापारीहरूले सल्लाघारीमा च्याङ्ग्रा ल्याएर बिक्री थालेका हुन्। यस वर्ष मुस्ताङबाट काठमाडौँसम्म च्याङ्ग्रा ल्याउन निकै कठिन भएको व्यापारीहरूले बताएका छन्। वर्षाका कारण सडक र पुलमा क्षति पुग्दा ढुवानी प्रभावित भएको थियो। कतिपय स्थानमा खानपिन तथा बासको उचित व्यवस्था नहुँदा व्यापारी र च्याङ्ग्रा दुवैले समस्या भोग्नुपरेको थियो।
क्षतिग्रस्त सडक तथा पुल पार गराउन डोजर र टिपरको सहयोग लिनुपरेको व्यापारी मेखबहादुर नेपालले बताए। उनले यस वर्ष करिब ५ सय च्याङ्ग्रा ल्याएका छन्। त्यसमध्ये ३५१ वटा च्याङ्ग्रा सल्लाघारीमा बिक्रीका लागि राखिएको छ भने बाँकी २ सय च्याङ्ग्रा कलङ्की खसीबजारका व्यापारीलाई उपलब्ध गराइएको छ। सल्लाघारीमा मंगलबारदेखि बिक्री सुरु गरिएको हो।
व्यापारीका अनुसार यस वर्ष च्याङ्ग्राको मूल्य गत वर्षको तुलनामा प्रतिगोटा करिब ३ हजार रुपैयाँसम्म महँगिएको छ। यद्यपि उपभोक्तालाई ध्यानमा राखेर आफूले गत वर्षकै हाराहारीमा मूल्य राखेको नेपालले दाबी गरे। हाल सल्लाघारीमा च्याङ्ग्राको मूल्य जिउँदो तौलमा प्रतिकेजी १ हजार २५० देखि १ हजार ३०० रुपैयाँसम्म कायम गरिएको छ। थोक खरिदकर्ताका लागि कारोबारको परिमाण हेरी प्रतिगोटा १० देखि २० रुपैयाँसम्म छुट दिने व्यवस्था गरिएको छ। ३० वर्षभन्दा लामो समयदेखि च्याङ्ग्राको व्यापार गर्दै आएका नेपालले यस वर्षको जस्तो महँगी र कठिनाइ विगतमा अनुभव नगरेको बताए।
