काठमाडौं: नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा बुधबार उल्लेख्य सुधार देखिएको छ। बजार २१.३२ अंकले बढेर २६२१.२६ को विन्दुमा पुगेर बन्द भएको छ।
दिनभरको कारोबारमा कूल ४ अर्ब १३ करोड १६ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। यस क्रममा १ करोड १६ लाख कित्ता सेयरको कारोबार भएको छ। आजको बजारमा खरिदकर्ता हाबी देखिएका छन्। तथ्यांक अनुसार १८८ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ८० वटा कम्पनीको मूल्य घटेको छ। ९ वटा कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन। कुल ३५४ वटा स्क्रीपको ३९ हजार १८३ पटक कारोबार भएको छ।
आजको बजारमा सिद्धार्थ बैंकको डिवेञ्चर १३.२१ प्रतिशतले बढेर सर्वाधिक कमाउनेको सूचीमा शीर्ष स्थानमा रहेको छ। कारोबार रकमका आधारमा कुमारी बैंक पहिलो स्थानमा छ, जसको २६ करोड ४६ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। त्यसैगरी, घलेम्दी हाइड्रोपावरको २१ करोड ६० लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
समूहगत रूपमा हेर्दा बैंक, विकास बैंक र निर्जीवन बीमा कम्पनीका सूचक एक प्रतिशतभन्दा धेरैले बढेका छन्। बजारका अन्य समूहका सूचकहरू पनि सकारात्मक देखिएका छन्, यद्यपि तिनको वृद्धिदर एक प्रतिशतभन्दा कम रहेको छ।
