काठमाडौं: राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले वार्षिक ६ प्रतिशत ब्याजदरमा ३ अर्ब रुपैयाँ बराबरको ‘६ प्रतिशत आरबीबीएल डिबेन्चर २०८९’ असोज २९ गतेदेखि सर्वसाधारणका लागि बिक्री खुला गर्ने भएको छ। बैंकले प्रतिइकाइ १ हजार रुपैयाँ अंकित मूल्यमा कुल ३० लाख इकाइ डिबेन्चर निष्कासन गरेको हो।
कुल निष्कासित इकाइमध्ये ६० प्रतिशत अर्थात् १८ लाख इकाइ व्यक्तिगत तवरबाट बिक्री गरिनेछ भने ४० प्रतिशत अर्थात् १२ लाख इकाइ सर्वसाधारणका लागि छुट्याइएको छ। ७ वर्ष अवधिको यस डिबेन्चरमा लगानीकर्ताले असोज २९ देखि कात्तिक १० गतेसम्म आवेदन दिन सक्नेछन्। तोकिएको अवधिमा सबै इकाइ बिक्री नभएमा निष्कासन मिति कात्तिक १२ गतेसम्म लम्बिन सक्ने बैंकले जनाएको छ।
लगानीकर्ताले न्यूनतम २५ इकाइदेखि अधिकतम सम्पूर्ण इकाइका लागि आवेदन दिन सक्ने व्यवस्था छ। यस डिबेन्चरको निष्कासन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ। वि.सं. २०२२ सालमा स्थापना भएको राष्ट्रिय वाणिज्य बैंकले हाल देशभर ३१६ शाखा र ३३८ एटिएममार्फत सेवा प्रदान गर्दै आएको छ।
