काठमाडौं: सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको २०औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। बैंक सञ्चालक समितिका अध्यक्ष प्रबल जंग पाण्डेको अध्यक्षतामा काठमाडौंमा आयोजित सभाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदनसहित विभिन्न वित्तीय विवरणहरू छलफल गरी पारित गरेको छ।
सभाले आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य मुनाफाबाट कुल ४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। यसमा चुक्ता पुँजी १५ अर्ब ५० करोड ७४ लाख ६३ हजार ६१४ रुपैयाँको ३.८० प्रतिशतले हुने ५८ करोड ९२ लाख ८३ हजार ६१७ रुपैयाँ ३४ पैसा बराबरको बोनस सेयर र कर प्रयोजनका लागि ०.२० प्रतिशतले हुने ३ करोड १० लाख १४ हजार ९२७ रुपैयाँ २३ पैसा नगद लाभांश समावेश छ।
बैंकले आर्थिक वर्ष २०६५/६६ देखि निरन्तर लाभांश वितरण गर्दै आएको छ भने यसको २० वर्षको औसत लाभांश १०.०८ प्रतिशत रहेको छ। सभाका अध्यक्ष पाण्डेले सेयरधनीहरूबाट प्राप्त सुझावका आधारमा बैंकको कार्यसम्पादन अघि बढाउने प्रतिबद्धता जनाए। उनले आगामी दिनमा संस्थागत सुशासन र अनुपालनाको स्तरलाई थप सुदृढ बनाउँदै लैजाने विषयमा बैंक केन्द्रित रहने बताए।
हाल सिटिजन्स बैंकले देशभरका ६१ जिल्लामा २०० वटा शाखा, १६७ वटा एटिएम, ३ विस्तारित काउन्टर र ४२ वटा शाखारहित बैंकिङ इकाइमार्फत २० लाख ७८ हजार ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ।
