काठमाडौं। हुम्लाको सदरमुकाम सिमकोट र आसपासका क्षेत्रमा स्याउ टिप्ने काम सुरु भएको छ।
स्याउको रसिलोपन र परिपक्वता मेसिनबाट परीक्षण गरेपछि मात्र किसानले बगैँचाबाट फल टिप्न थालेका हुन्।
सिमकोट गाउँपालिका-५ का किसान मानविर रोकायाले कृषि प्राविधिकको सल्लाहअनुसार आफ्नो बगैँचामा रहेका ५३ बोटबाट गोल्डेन र रेड डेलिसियस जातका स्याउ टिप्न सुरु गर्नुभएको छ। उहाँले यस वर्ष करिब साढे आठ क्विन्टल स्याउ उत्पादन हुने अनुमान गर्नुभएको छ र सो स्याउ काठमाडौं पठाउने तयारी गर्नुभएको छ।
त्यस्तै, सिमकोट-२ ठेहेका गोरासिंह बोहराले पनि आफ्नो तीन सय बोटको बगैँचाबाट स्याउ टिप्न सुरु गर्नुभएको छ। उहाँले ग्राहकको मागअनुसार स्याउ बिक्री गरिरहनुभएको छ र हालसम्म डेढ लाख रुपैयाँ बराबरको स्याउ बिक्री भइसकेको छ।
सिमकोट-४ बुराउसेका छक्क लामाले पनि चार सय बोटबाट स्याउ टिप्न थाल्नुभएको छ। उहाँले यस वर्ष उत्पादन राम्रो भएकाले सुर्खेत, नेपालगन्ज र काठमाडौंसम्म स्याउ पठाउने योजना बनाउनुभएको छ।
सडक सञ्जालको पहुँच विस्तार भएसँगै हुम्लाका किसानले उत्पादित स्याउका लागि बजार पाउन थालेका छन्। जिल्लामा स्याउको मूल्य ग्रेडअनुसार तोकिएको छ। जसअनुसार ए ग्रेडको स्याउ प्रतिकिलो ६० रुपियाँ, बी ग्रेडको ५० रुपियाँ र सी ग्रेडको ४० रुपियाँमा बिक्री भइरहेको छ।
