काठमाडौं। राष्ट्रिय तथ्याङ्क कार्यालयले गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिक अवधिमा मुलुकको आर्थिक वृद्धिदर १.५४ प्रतिशत रहने अनुमान गरेको छ।
बुधबार सार्वजनिक गरिएको त्रैमासिक राष्ट्रिय लेखा तथ्याङ्कअनुसार मौसमी प्रभाव समायोजनसहित यो वृद्धिदर हासिल हुने देखिएको हो। कार्यालयले यसअघि तेस्रो त्रैमासिकमा ०.७० प्रतिशतको वृद्धिदर रहने अनुमान सार्वजनिक गरेको थियो।
कार्यालयका अनुसार १८ वटा औद्योगिक वर्गीकरणमध्ये १७ वटाको वृद्धिदर धनात्मक देखिएकाले तेस्रो त्रैमासिकको तुलनामा सुधार आएको हो। अर्थतन्त्रमा उच्च योगदान रहेको कृषि, वन तथा मत्स्य क्षेत्रको कुल मूल्य अभिवृद्धि १.०८ प्रतिशत रहने अनुमान गरिएको छ। त्यस्तै, थोक तथा खुद्रा व्यापार क्षेत्रमा २.९० प्रतिशतको वृद्धि देखिएको छ।
समीक्षा अवधिमा आवास तथा भोजन सेवा क्षेत्रमा ६.०५ प्रतिशत, विद्युत् तथा ग्यासमा ३.७६ प्रतिशत र खानी तथा उत्खनन क्षेत्रमा ३.२२ प्रतिशतको वृद्धिदर रहेको छ। यसैगरी सार्वजनिक प्रशासन तथा रक्षामा २.२१ प्रतिशत, वित्तीय तथा बिमा क्षेत्रमा २.१० प्रतिशत, अन्य सेवामा २ प्रतिशत, प्रशासनिक तथा सहयोगी सेवामा १.५९ प्रतिशत, मानव स्वास्थ्य तथा सामाजिक कार्यमा १.१२ प्रतिशत र यातायात तथा भण्डार क्षेत्रमा ०.७३ प्रतिशत मूल्य अभिवृद्धि हुने अनुमान गरिएको छ।
पेसागत, वैज्ञानिक तथा प्राविधिक सेवामा ०.६२ प्रतिशत, घरजग्गा कारोबारमा ०.६० प्रतिशत, निर्माण क्षेत्रमा ०.२९ प्रतिशत, पानी आपूर्ति, ढल तथा फोहोर व्यवस्थापनमा ०.२४ प्रतिशत र सूचना तथा सञ्चार क्षेत्रमा ०.०७ प्रतिशतको वृद्धिदर देखिएको छ।
यद्यपि, अर्थतन्त्रमा महत्वपूर्ण मानिने उद्योग क्षेत्रको वृद्धिदर भने ०.४८ प्रतिशतले ऋणात्मक रहने कार्यालयले जनाएको छ। कार्यालयका अनुसार मौसमी प्रभाव समायोजन नगर्दा भने अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा आर्थिक वृद्धिदर चार प्रतिशत रहने अनुमान छ।
