जनकपुरधाम। हुलाकी राजमार्गअन्तर्गत पर्ने कमला नदीको पुलबाट यातायात सञ्चालन गर्ने तयारी अन्तिम चरणमा पुगेको छ।
हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय जनकपुरधामका प्रमुख एवं सिनियर डिभिजनल इन्जिनियर कृष्णकुमार महतोका अनुसार आउँदो मङ्सिर अन्तिम सातादेखि पुल सञ्चालनमा ल्याउने योजना छ।
धनुषा र सिराहा जिल्ला जोड्ने उक्त पुल निर्माणका लागि २०६८ सालमा पप्पु जेभी लुम्बिनी काठमाडौँसँग सम्झौता भएको थियो।
२०७८ सालमा निर्माण सम्पन्न भई सञ्चालनको तयारी भइरहेका बेला असार १७ गते आएको बाढीले पुलका दुई वटा पिल्लर भासिएपछि यातायात अवरुद्ध भएको थियो। निर्माण कम्पनीको बिमा कम्पनीसँगको विवादका कारण पिल्लर मर्मत कार्य लामो समय रोकिएको थियो।
अहिले भासिएका पिल्लरको सबलीकरण र नयाँ पिल्लर निर्माणको काम तीव्र गतिमा भइरहेको छ। महतोले भने, “निर्माण कम्पनीको सक्रियता, निर्देशनालयको निरन्तर प्रयास र जनप्रतिनिधिको पहलले काम अन्तिम चरणमा पुगेको छ।” निर्माण कम्पनीका प्रतिनिधि सूर्यप्रकाश शर्माका अनुसार भदौ महिनामा आएको बाढीले केही ढिलाइ भए पनि हाल काम अन्तिम चरणमा छ।
पुल सञ्चालनमा आउने खबरले धनुषा र सिराहाका स्थानीय हर्षित भएका छन्। कमला नगरपालिकाका नगरप्रमुख विशेश्वर यादवका अनुसार यो पुल सञ्चालनमा आएपछि मधेश प्रदेशको राजधानी जनकपुरधाम र राजविराजबीचको आवतजावत सहज हुनेछ।
