काठमाडौं। आन्तरिक राजस्व विभागले सञ्चालन गर्दै आएको करदाता प्रोत्साहन उपहार कार्यक्रम अन्तर्गतको विजेता घोषणा कात्तिक १ गते गरिने भएको छ।
विभागका अनुसार सम्वत् २०८३ असोज १६ गतेदेखि ३१ गतेसम्मको अवधिमा खरिद गरिएका वस्तु तथा सेवाका आधारमा उपहार कुपन प्रदान गरिनेछ।
उपभोक्ताहरूले असोज ३१ गते शनिबारसम्म खरिद बिलको विवरण प्रविष्टि गरेर उपहार कुपन प्राप्त गर्न सक्ने अर्थ मन्त्रालयले जानकारी दिएको छ। मन्त्रालयले पुरस्कार दाबी गर्नका लागि खरिद बिल अनिवार्य रहेको स्पष्ट पारेको छ।
यसका साथै मन्त्रालयले सम्पूर्ण उपभोक्तालाई वस्तु तथा सेवा खरिद गर्दा अनिवार्य रूपमा बिल लिन र व्यवसायीहरूलाई बिक्री गर्दा अनिवार्य रूपमा बिल-बिजक जारी गर्न आग्रह गरेको छ। कर प्रणालीलाई थप व्यवस्थित र पारदर्शी बनाउन यो कार्यक्रम सञ्चालन गरिएको हो।
