काठमाडौं: चालु आर्थिक वर्षको भदौ मसान्तसम्म नेपालको उपभोक्ता मुद्रास्फीति ६.३४ प्रतिशत पुगेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वित्तीय प्रतिवेदन अनुसार अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति १.८७ प्रतिशत मात्र थियो।
समीक्षा अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ७.५४ प्रतिशत र गैर-खाद्य तथा सेवा समूहको मुद्रास्फीति ५.६९ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति १.३४ प्रतिशतले ऋणात्मक थियो भने गैर-खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.७० प्रतिशत रहेको थियो।
भदौ महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घ्यू तथा तेलको मूल्य सूचकाङ्क १६.६८ प्रतिशत, फलफूलको १५.९९ प्रतिशत, चिनी तथा चिनीजन्य पदार्थको १२.१४ प्रतिशत, माछा तथा मासुको ७.३४ प्रतिशत र तरकारीको ७.०७ प्रतिशतले बढेको छ। त्यस्तै गैर-खाद्य तथा सेवा समूहमा यातायातको मूल्य सूचकाङ्क १२.७७ प्रतिशत र मदिराजन्य पेय पदार्थको ८.८३ प्रतिशतले वृद्धि भएको छ।
भौगोलिक क्षेत्रका आधारमा ग्रामीण क्षेत्रको मुद्रास्फीति ६.७८ प्रतिशत र शहरी क्षेत्रको ६.१९ प्रतिशत रहेको छ। प्रदेशगत रूपमा सबैभन्दा बढी मधेश प्रदेशमा ७.४८ प्रतिशत र सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा ५.१६ प्रतिशत मुद्रास्फीति देखिएको छ। उपत्यकाको मुद्रास्फीति ५.२८ प्रतिशत, तराईको ६.८९ प्रतिशत, पहाडको ६.४१ प्रतिशत र हिमालको ५.६९ प्रतिशत छ।
भदौ महिनामा नेपालको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ६.३४ प्रतिशत रहँदा भारतमा सन् २०२६ अगस्टमा यस्तो मुद्रास्फीति ४.८२ प्रतिशत रहेको थियो। यसैगरी, नेपालको वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ८.०८ प्रतिशत रहेको छ, जुन अघिल्लो वर्षको सोही महिनामा २.१० प्रतिशत थियो।

