काठमाडौं: अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ) को पछिल्लो प्रक्षेपणअनुसार भारत सन् २०२७ सम्ममा जापानलाई उछिन्दै विश्वको चौथो ठूलो अर्थतन्त्र बन्ने भएको छ। आइएमएफका अनुसार सन् २०२७ मा भारतको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) ४५ खर्ब २० अर्ब अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ। हाल विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र अमेरिका रहेको छ भने चीन र जर्मनी क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्।
विश्वव्यापी आर्थिक चुनौतीका बाबजुद भारतले पछिल्ला वर्षहरूमा बलियो आर्थिक वृद्धि हासिल गरिरहेको छ। आइएमएफले सन् २०२६ का लागि भारतको आर्थिक वृद्धिदरको अनुमान बढाएर ७ प्रतिशत पुर्याएको छ। एसिया-प्रशान्त क्षेत्रका लागि आइएमएफका क्षेत्रीय निर्देशक कृष्ण श्रीनिवासनले भारतको बलियो आर्थिक वृद्धि, वित्तीय अनुशासन र पर्याप्त विदेशी मुद्रा सञ्चितिका कारण ऊर्जा मूल्यको अस्थिरतालाई सामना गर्न सक्ने क्षमता रहेको बताए।
यसको विपरीत, जापानको अर्थतन्त्रमा वृद्ध जनसङ्ख्या र संरचनात्मक समस्याका कारण सुस्तता देखिएको छ। आइएमएफले सन् २०२६ मा जापानको आर्थिक वृद्धिदर शून्य दशमलव ७ प्रतिशतमा सीमित हुने अनुमान गरेको छ। ऊर्जाको मूल्यवृद्धि र उच्च मुद्रास्फीतिले जापानको अर्थतन्त्रमा दबाब बढाएको छ। यसका साथै अमेरिकी डलरको तुलनामा जापानी येनको मूल्य ४० वर्षयताकै न्यून स्तरमा झर्दा आयात लागत बढेको छ।
श्रीनिवासनले कृत्रिम बौद्धिकता (एआई) मा भइरहेको लगानीले जापानलाई केही राहत दिए पनि यसबाट अन्य अर्थतन्त्रको तुलनामा उल्लेख्य लाभ नभएको उल्लेख गर्नुभयो। यसैबीच, एआई क्षेत्रका कम्पनीहरूको नाफाबारे आशङ्का बढ्दा प्रविधि कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ। बिहीबार जापानको प्रमुख सेयर बजार सूचक निक्केईमा करिब ५ प्रतिशतको गिरावट देखिएको छ।

