काठमाडौं: दसैँको रौनक र चहलपहल बढिरहेका बेला भक्तपुरका किसानहरू भने वर्षभरि खान पुग्ने धान भित्र्याउन व्यस्त छन्। खेतमा धान पाकेपछि किसानहरू अर्मपर्म गरेर धान काट्ने, थ्रेसर लगाउने र बोरामा भरेर भकारीमा राख्ने काममा जुटेका छन्।
उपत्यकाका धेरै मानिस दसैँको तयारीमा किनमेल र घर सिँगार्न व्यस्त रहे पनि भक्तपुरका किसानलाई भने पहेँलपुर झुलेको धान भित्र्याउने चटारो छ।
यद्यपि मनसुन नेपालबाट बाहिरिइसकेको छ, तर मौसममा कुनै पनि समय बदली भई पानी पर्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै किसानहरू धान पाक्ने बित्तिकै भित्र्याउन हतारिएका हुन्। विगतका वर्षहरूमा बेमौसमी वर्षाका कारण बालीमा क्षति पुग्ने गरेकाले किसानहरू यसपटक जोखिम मोल्न चाहँदैनन्।
अब वर्षा भएमा धान बालीमा ठुलो क्षति हुने भएकाले उनीहरू दसैँ मनाउनु भन्दा पनि बाली भित्र्याउनलाई प्राथमिकता दिइरहेका छन्। सामान्यतया विगतका वर्षहरूमा दसैँ सकिएपछि मात्र धान भित्र्याउने समय जुर्थ्यो। तर, यस वर्ष दसैँ केही ढिला परेकाले धान पाक्ने समय र दसैँ एकैपटक परेको छ।

