काठमाडौं: दसैँका लागि मुस्ताङबाट १३ हजार ७१७ वटा भेडाच्याङ्ग्रा बिक्री भएका छन्। कृषि तथा पशु विकास कार्यालय मुस्ताङका अनुसार यस वर्ष भेडाच्याङ्ग्रा बिक्रीबाट ३५ करोड ५३ लाख ८८ हजार रुपियाँ बराबरको कारोबार भएको छ।
कार्यालयका प्रमुख डा. लालमणि अर्यालका अनुसार मुस्ताङका किसानले पालेका सात हजार ९६४ च्याङ्ग्रा र एक हजार २०४ भेडा बिक्रीका लागि बजार पठाइएको छ। साथै डोल्पाबाट तीन हजार ५५१, मुगुबाट २६०, जुम्लाबाट ३०० र तिब्बतको कोरला नाका हुँदै ४३८ च्याङ्ग्रा मुस्ताङ भएर बाहिरिएका छन्।
किसानले भेडाच्याङ्ग्राको जात, उमेर र तौलअनुसार प्रतिगोटा २८ हजारदेखि ५२ हजार रुपियाँसम्ममा बिक्री गरेका छन्। गत आर्थिक वर्षमा १५ हजार ६०० भेडाच्याङ्ग्रा बिक्रीबाट ३६ करोड ५० लाख रुपियाँको कारोबार भएको थियो। प्रतिकूल मौसमका कारण यस वर्ष उपल्लो डोल्पाबाट आउने भेडाच्याङ्ग्राको सङ्ख्यामा कमी आएको व्यापारी ज्ञानकुमार श्रेष्ठले बताए।
मुस्ताङका लो-घेकर दामोदरकुण्ड, लोमान्थाङ र वारागुङ मुक्तिक्षेत्र गाउँपालिका भेडाच्याङ्ग्रा उत्पादनका मुख्य क्षेत्र हुन्। उच्च हिमाली क्षेत्रमा जडीबुटी खाएर हुर्किने भएकाले दसैँ र तिहारका समयमा यिनीहरूको मासुको माग बढी हुने गर्छ। किसानका अनुसार एउटा भेडाच्याङ्ग्रा मासुका लागि तयार हुन सामान्यतया तीन वर्ष लाग्छ।
बाढीपहिरोका कारण बजारसम्म भेडाच्याङ्ग्रा पुर्याउन कठिनाइ भएको किसान आङयाल गुरुङले बताए। चरन क्षेत्रमा वन्यजन्तुबाट जोगाउन र अन्य व्यापारीका बथानसँग मिसाएर लैजानुपर्दा समस्या हुने गरेको उनको भनाइ छ। तिहारका समयमा थप करिब दुई करोड रुपियाँ बराबरको कारोबार हुने अनुमान गरिएको छ।

