सुनसरी: जिल्ला प्रशासन कार्यालय सुनसरीले खसी: बोकाको मासुको खुद्रा मूल्य प्रतिकेजी अधिकतम १ हजार १ सय रुपैयाँ तोकेको छ। उपभोक्ताबाट मासुको मूल्य अस्वाभाविक रूपमा बढेको भन्दै गुनासो आएपछि प्रशासनले यस्तो निर्णय लिएको हो। बिहीबार एक सूचना जारी गर्दै प्रशासनले जिल्लाभरका व्यवसायीलाई तोकिएको मूल्यभन्दा बढीमा मासु बिक्री नगर्न निर्देशन दिएको छ।
यसअघि पनि खसी-बोकाको मासुको मूल्य १ हजार १ सय रुपैयाँ नै कायम गरिएको थियो। केही बिक्रेताले सोही मूल्यमा बिक्री गर्ने प्रतिबद्धता जनाए पनि मूल्यवृद्धि नियन्त्रण गर्नुपर्ने आवश्यकता देखिएपछि प्रशासनले पुनः सूचना जारी गरेको हो। तोकिएको मूल्यभन्दा बढी लिने व्यवसायीलाई कानूनबमोजिम कारबाही गरिने चेतावनी प्रशासनले दिएको छ। उपभोक्तालाई राहत दिने र मूल्यमा हुने अस्वाभाविक वृद्धि नियन्त्रण गर्ने उद्देश्यले यो व्यवस्था लागू गरिएको कार्यालयले जनाएको छ।

