ललितपुर: महिला उद्यमी महासङ्घ नेपालले महिला उद्यमीद्वारा उत्पादित वस्तु तथा सेवालाई राष्ट्रिय पहिचान दिलाउने उद्देश्यले ‘म उद्यमी ट्रेडमार्क’ अभियानलाई देशभर विस्तार गर्ने भएको छ। महासङ्घले आज ललितपुरमा पत्रकार सम्मेलन गरी यो अभियानलाई राष्ट्रिय स्तरमा लैजाने जानकारी दिएको हो।
महासङ्घकी अध्यक्ष दर्शना श्रेष्ठले ‘मेरो पहिचान, मेरो उद्यम’ भन्ने मूल मन्त्रका साथ अघि बढाइएको यो अभियानले महिला उद्यमी र उनीहरूका उत्पादनलाई एउटै साझा पहिचानमा जोड्ने बताइन्। “गुणस्तरीय उत्पादन मात्रै पर्याप्त हुँदैन, उत्पादनले आफ्नो पहिचान निर्माण गर्नुपर्छ, उपभोक्ताको विश्वास जित्नुपर्छ र बजारमा विशिष्ट स्थान हासिल गर्नुपर्छ,” उनले भनिन्।
नेपाली महिला उद्यमीका उत्पादनमा स्थानीय सीप, संस्कृति र मौलिकता झल्किने भए पनि धेरैले अझै पनि बजारमा अपेक्षित स्थान पाउन सकेका छैनन्। ‘म उद्यमी’ ट्रेडमार्कले उत्पादनको दृश्यता बढाउन, उपभोक्ताको विश्वास जित्न र व्यावसायिक अवसर विस्तार गर्न सहयोग पुग्ने महासङ्घको विश्वास छ।
अध्यक्ष श्रेष्ठका अनुसार गत असारमा प्रधानमन्त्रीसँग भएको भेटमा यस अभियानको महत्वबारे छलफल भएको थियो। महासङ्घले सातै प्रदेश र जिल्लास्थित सञ्जालमार्फत उद्यमीको क्षमता अभिवृद्धि, नीतिगत पैरवी र बजार पहुँच विस्तारमा काम गर्दै आएको छ। आगामी दिनमा उत्पादनको व्यवस्थित अभिलेखीकरण, प्याकेजिङमा सुधार र डिजिटल उपस्थिति सुदृढ गर्ने योजना रहेको छ।
कार्यक्रममा महासङ्घकी प्रथम उपाध्यक्ष सुनिता वैद्य श्रेष्ठले अभियानको विस्तारका लागि प्रधानमन्त्रीबाट प्राप्त प्रेरणाप्रति आभार व्यक्त गरिन्। द्वितीय उपाध्यक्ष वासन्ती प्रधानले महिला उद्यमीका उत्पादन प्रवर्द्धन गर्न सार्वजनिक-निजी संवादका लागि ‘पोडकाष्ट सिरिज’ सञ्चालन भइरहेको जानकारी दिइन्। महासचिव सविता सुवेदीले सामूहिक ट्रेडमार्क प्रोफाइलिङमार्फत महिला उद्यमीको अवस्था र बजार सम्भावनाबारे तथ्यगत विवरण सङ्कलन गरिने बताइन्। यो अभियान हिमाल, पहाड र तराईका सबै महिला उद्यमीको साझा प्रयास भएको महासङ्घले जनाएको छ।

