बर्दिया। असोज महिनामा आएको हावाहुरी र वर्षाका कारण बर्दियाका किसानले लगाएको पाकेको धानबालीमा ठुलो क्षति पुगेको छ।
खेतमा पानी जमेकाले समयमै धान काट्न नपाउँदा बाली खेतमै उम्रिएको छ। गुलरिया नगरपालिका-५, थापाटोलका किसान जीवन ओलीले आफ्नो १० कट्ठा खेतमा लगाएको धान पूरै उम्रिएको बताए।
असोज २१ गते आएको हावाहुरीसहितको मुसलधारे वर्षाले धान ढलाएपछि खेतमा पानी जमेको थियो। थापाटोलका पाँच परिवारको धानबाली कामै नलाग्ने गरी नष्ट भएको छ। स्थानीय प्रकाश ओलीले धान उम्रिएपछि पशुलाई खुवाउनसमेत उपयुक्त नभएको बताए।
वर्षभरि खान पुग्ने धान नष्ट भएपछि परिवारको खाद्यान्न व्यवस्थापनमा समस्या परेको छ। किसानहरूले उम्रिएको धान काटेर सडकमा सुकाउन थालेका छन् तर गुणस्तर घटेकाले बिक्री गर्न कठिन हुने उनीहरूको चिन्ता छ।
एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय बर्दियाका सूचना अधिकारी फिर्तुमान चौधरीका अनुसार जिल्लाभर करिब ३० प्रतिशत धानबालीमा क्षति पुगेको छ।
कार्यालयले क्षतिको यकिन विवरण सङ्कलन गर्न स्थानीय तहहरूसँग तथ्याङ्क माग गरेको छ। स्थानीय तहबाट विवरण प्राप्त भएपछि क्षतिको विस्तृत अवस्था स्पष्ट हुने कार्यालयले जनाएको छ।

