काठमाडौं। यस वर्ष दसैँको मुखमा दुग्ध किसानहरूले समयमै भुक्तानी पाएपछि उनीहरूले राहत महसुस गरेका छन्।
विगत चार वर्षदेखि दसैँको समयमा आफूले बेचेको दुधको रकम नपाएर ऋण खोज्न बाध्य भएका किसानहरूका लागि यसपटकको चाड सुखद बनेको छ।
दुग्ध विकास संस्थान (डीडीसी) का महाप्रबन्धक डा. शरणकुमार पाण्डेका अनुसार यस वर्ष किसानलाई तिर्नुपर्ने ठुलो बक्यौता रकम बाँकी छैन। संस्थानको नियमित भुक्तानी चक्रअन्तर्गत केही सामान्य रकम मात्र बाँकी रहेको उनले जानकारी दिए। बजारमा डीडीसीका उत्पादनको माग बढेका कारण व्यापारमा सुधार आएको र दसैँ बिदाको समयमा पनि दुध सङ्कलन र वितरण प्रणालीलाई प्रभावकारी बनाउन विशेष व्यवस्था गरिएको उनले बताए।
काभ्रेका अगुवा किसान नारायण नेपालले विगतका वर्षहरूमा पैसा नपाएर आन्दोलन गर्नुपर्ने अवस्था रहेको स्मरण गर्दै यसपटक करिब ९० प्रतिशत बक्यौता रकम किसानको हातमा परिसकेको बताए। उनले भने, ‘दुधको पैसा नआउँदा बालबच्चाको स्कुलको शुल्क तिर्न, चाडबाडमा मिठोमसिनो खान र गाईभैँसीलाई पराल, चोकर किन्न नसक्ने अवस्थाबाट गुज्रिएका किसानहरूका लागि यस वर्षको भुक्तानीले एउटा नयाँ ऊर्जा दिएको छ।’
नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रह्लाद दाहालले पनि यसपटक किसानहरूको बक्यौता रकम क्लियर भएको बताए। निजी डेरी उद्योगहरूले पनि भुक्तानी दिइरहेका छन्। दाहालका अनुसार डेरी उद्योगहरूको स्टक क्लियर भएकाले भुक्तानी प्रक्रिया सहज बनेको हो। विगतका वर्षहरूमा दसैँ सँघारमै आउँदा पनि पैसा नपाएपछि किसानहरू गाउँका साहु-महाजनसँग ऋण खोजेर चाड मनाउन बाध्य थिए। यसपटक समयमै भुक्तानी पाएपछि किसानहरूमा पशुपालनतर्फ थप हौसला मिलेको छ।

