काठमाडौं। अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) की प्रमुख क्रिस्टालिना जर्जिएभाले इरान युद्धका कारण उत्पन्न महँगी र ऊर्जा सङ्कटबाट प्रभावित न्यून आय भएका देशहरूलाई सहयोग गर्न संस्था प्रतिबद्ध रहेको बताएकी छन्।
थाइल्यान्डको बैंककमा आयोजित वार्षिक बैठकको समापन समारोहमा बोल्दै उनले विश्व अर्थतन्त्रमा देखिएका आशा र चुनौतीहरूबारे चर्चा गरिन्।
जर्जिएभाका अनुसार विश्व अर्थतन्त्रको लचिलोपन, कृत्रिम बुद्धिमत्ताको सम्भावना र एसियाको आर्थिक गतिशीलताले सकारात्मक संकेत देखाए पनि मुद्रास्फीति, बढ्दो ऋण, युद्ध र जलवायु परिवर्तनका जोखिमहरूले चिन्ता थपेका छन्।
अमेरिका र इजरायलले इरानविरुद्ध सुरु गरेको युद्धका कारण विश्व बजारमा इन्धनको मूल्य बढेको छ। यसको प्रत्यक्ष प्रभावस्वरूप विभिन्न देशमा मुद्रास्फीति चर्किएको छ।
विशेषगरी तेल आयातमा निर्भर रहेका गरिब मुलुकहरू यसबाट बढी प्रभावित भएको आईएमएफले जनाएको छ। मुद्रास्फीतिलाई गरिबमाथि लगाइने करको संज्ञा दिँदै जर्जिएभाले प्रभावित राष्ट्रहरूलाई आर्थिक वृद्धि र कमजोर वर्गको संरक्षणमा केन्द्रित हुन आग्रह गरिन्।
तथ्यांकअनुसार न्यून आय भएका देशहरूको सरकारी राजस्वमा ऋण भुक्तानीको हिस्सा ८ प्रतिशतबाट बढेर १४ प्रतिशत पुगेको छ।
आईएमएफले आवश्यकताअनुसार ऋण पुनर्संरचना, आन्तरिक स्रोत परिचालन, अन्तर्राष्ट्रिय वित्तीय सहायता र निजी लगानी प्रवर्द्धनमा सघाउने प्रतिबद्धता जनाएको छ।

