विराटनगर। चाडपर्वको समयमा नेपाली उपभोक्ताको भिड लाग्ने नेपाल-भारत सीमावर्ती बजार जोगवनीमा यस वर्ष दसैँको व्यापारमा गिरावट आएको छ।
विगतका वर्षहरूमा खुट्टा राख्ने ठाउँ नहुने जोगवनीमा यसपटक किनमेल गर्नेहरूको उपस्थिति निकै पातलो देखिएको छ।
एक सरकारी अधिकारीका अनुसार सामान्य अवस्थामा जोगवनीमा दैनिक ५ करोड रुपैयाँ हाराहारीको कारोबार हुने गरेको थियो। चाडपर्वको समयमा यस्तो कारोबार १८ देखि २२ करोड रुपैयाँसम्म पुग्ने गरेकोमा अहिले करिब आधाले घटेको अनुमान छ।
व्यापारीहरूले व्यापार घट्नुमा भन्सार नाकामा गरिएको कडाइ, सहायक नाकाबाट भइरहेको तस्करी र बदलिँदो अनलाइन व्यापारलाई कारण मान्छन्। यद्यपि, उद्योगी तथा व्यापारी सगुन बोहोरा उपभोक्ताको खस्किएको क्रयशक्तिलाई मुख्य कारण ठान्छन्। बोहोराले भने, ‘मान्छेको खपत हेर्नुस्, त्यसै कम छ। किनकि चाडपर्वको मुख छ, बिस्तारै-बिस्तारै मान्छे उठिराखेका छन्, तर कोभिडभन्दा अगाडिको जुन खर्च गर्ने क्षमता थियो, त्यो अहिले छैन।’
सरकारले भन्सार नाकामा कडाइ गरे पनि त्यसको सकारात्मक प्रभाव नेपाली बजारमा नदेखिएको बोहोराको भनाइ छ। मुख्य नाकामा कडाइ हुँदा रंगेली जस्ता सहायक नाकाहरूबाट अवैध ओसारपसार भइरहेको सुरक्षा स्रोतले जनाएको छ। रंगेली नाका हुँदै भित्रिएका भारतीय सामानहरू विराटचोक, बेलबारी र पथरी लगायतका बजारमा निर्वाध रूपमा उपलब्ध छन्।
डिजिटल भुक्तानी र क्युआर कोडको प्रयोगमा आएको कडाइका कारण पनि व्यापार घटेको सरकारी अधिकारीको दाबी छ। तर, बोहोरा यसमा सहमत छैनन्। उनले जोगवनीका धेरै व्यापारी विराटनगरकै भएकाले नेपाली मुद्रा नै सहजै स्वीकार गरिने बताए।
नेपाली बजारमा दैनिक उपभोग्य वस्तुको मूल्य स्थिर रहनु र साल्ट ट्रेडिङले चिनीको सहज उपलब्धता गराउनुले पनि उपभोक्ताहरू जोगवनी धाउन छाडेका छन्।
यसबाहेक सामाजिक सञ्जालमार्फत हुने अनलाइन व्यापार र जोगवनीमा हुने भिडभाड तथा चोरीको डरले पनि उपभोक्ता आफ्नै गाउँ-सहरका बजारलाई प्राथमिकता दिन थालेका छन्।
