काठमाडौं। देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार यस प्रभावका कारण देशका हिमाली र पहाडी भू-भागमा आंशिक बदली भएको छ भने तराईका अधिकांश क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ।
आगामी समयमा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भू-भागका साथै मधेस प्रदेशमा आंशिक बदली हुने सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ।
साथै, देशका हिमाली भू-भाग र कोशी, बागमती तथा गण्डकी प्रदेशका पहाडी क्षेत्रका उच्च स्थानमा हल्का हिमपातसमेत हुन सक्ने पूर्वानुमान गरिएको छ।
