काठमाडौं: नयाँ पुस्तामा परम्परागत सीपप्रति चासो घट्दै गएपछि भोजपुरका गाउँघरमा माटाका भाँडा बनाउने र प्रयोग गर्ने चलन हराउँदै गएको छ। विगतमा घरायसी प्रयोजनका लागि प्रयोग हुने गाग्री, हाँडी, घैँटो र धुपौरोलगायतका माटाका सामग्री अहिले कमै मात्र देखिन थालेका छन्।
विशेष गरी घरायसी कामदेखि धार्मिक तथा सांस्कृतिक कार्यमा माटाका भाँडाको प्रयोग अधिक हुन्थ्यो। यी भाँडा गाउँघरको मौलिक परम्परा र पहिचानका रूपमा रहेका थिए। अहिले ती भाँडाको स्थानमा प्लास्टिक र स्टिलका भाँडाले लिन थालेका छन्। अरुण गाउँपालिका-७ का स्थानीय लक्ष्मीप्रसाद अधिकारीका अनुसार नयाँ पुस्तामा सीप हस्तान्तरण हुन नसक्दा यो परम्परागत पेसा सङ्कटमा परेको हो।
माटाका सामग्री बनाउन माटो छनोट गर्ने, त्यसलाई मुछ्ने, आकार दिने र प्रयोगयोग्य बनाउन विभिन्न प्रक्रिया पूरा गर्नुपर्छ। यसका लागि सीप, अनुभव र समय आवश्यक पर्ने भएकाले नयाँ पुस्ता यो पेसातर्फ आकर्षित हुन सकेको छैन।
रामप्रसादराई गाउँपालिका-८ का रुपमान श्रेष्ठले माटाका सामग्रीको प्रयोग घट्दै जाँदा तिनलाई बनाउने सीप र त्यससँग जोडिएको मौलिक संस्कृति पनि हराउने जोखिम बढेको बताए। उनले स्थानीयस्तरमा सीप सिकाउँदै परम्परागत सामग्रीको महत्त्वबारे नयाँ पुस्तालाई जानकारी गराएर यसको प्रयोगलाई प्रोत्साहन गर्न आवश्यक रहेको उल्लेख गरे।

