काठमाडौं: मेची करिडोरअन्तर्गत इलाम: झापा फास्ट ट्र्याकको बेलासे-राकसे-गोलाखर्क खण्डको निर्माण कार्य अलपत्र परेपछि सडक डिभिजनले ठेक्का तोड्ने प्रक्रिया अघि बढाएको छ। पाँच वर्षसम्म पनि काम सम्पन्न नभएपछि डिभिजनले ठेक्का तोड्न स्वीकृतिका लागि सडक विभागमा फाइल पठाएको हो।
साढे ९ किलोमिटर लामो उक्त सडक खण्ड २०७८ असार २९ गते २७ करोड २१ लाख ५३ हजार रुपैयाँमा दुई वर्षभित्र कालोपत्रे सक्ने गरी खड्का-कृष्ण-सक्षम जेभीलाई ठेक्का दिइएको थियो। निर्माण कम्पनीको चरम लापरबाहीका कारण हालसम्म ४७ प्रतिशतमात्र काम भएको सडक डिभिजनले जनाएको छ। सडक डिभिजन प्रमुख पवन भट्टराईले कामको गति सन्तोषजनक नभएपछि ठेक्का तोड्ने तयारी गरिएको बताए। उनले भने, ‘धेरै पटक म्याद थपेर प्रयास गर्दा पनि काम अघि बढेन, पिटिक्कै चित्तोबुझ्दो गतिमा काम भएन।’
उक्त निर्माण कम्पनीमा नेपाली कांग्रेसका नेता तथा इलामका जिल्ला सभापति डम्बर खड्का र जाजरकोटको छेडागाढ नगरपालिकाका प्रमुख रत्नबहादुर खड्काको संलग्नता रहेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनील लम्सालले गत असारमा काम अलपत्र पार्ने निर्माण कम्पनीको ठेक्का तोड्न निर्देशन दिएका थिए। त्यसपछि रत्नबहादुर खड्काले असोज मसान्तसम्म काम सक्ने प्रतिबद्धता जनाए पनि सामान्य मर्मतबाहेक थप प्रगति हुन सकेन।
सुरुवाती सम्झौताअनुसार २०८० पुस २९ सम्म काम सकिनुपर्ने थियो। त्यसपछि पटक-पटक म्याद थपिए पनि हालसम्म करिब ५ किलोमिटरमा मात्र ग्राभेलको काम भएको छ। ठेक्का सम्झौताको म्याद २०८३ असोज मसान्तमा समाप्त भइसकेको छ। सडक निर्माणमा ढिलाइ हुँदा इलाम, पाँचथर र ताप्लेजुङका स्थानीयले सास्ती भोग्दै आएका छन्। मेची राजमार्गको राजदुवाली खण्डमा ठूला सवारी साधन सञ्चालन हुन नसक्दा र फास्ट ट्र्याकको काम पनि पूरा नहुँदा स्थानीयले विकल्प नपाएको गुनासो गरेका छन्।
