काठमाडौं: सिन्धुलीको सुनकोसी गाउँपालिका-७ नागीका किसानहरू परम्परागत खेती छाडेर व्यावसायिक किवी खेतीतर्फ आकर्षित भएका छन्। मकै, कोदो र आलुको विकल्पमा किवी खेती रोज्ने किसानको संख्या बढ्दै गएको छ। महाभारत क्षेत्रको हावापानी र माटो किवीका लागि अनुकूल भएकाले यहाँका पाखो जमिनमा समेत बिरुवा लगाउन थालिएको छ।
स्थानीय किसानका अनुसार किवीको माग र मूल्य दुवै राम्रो भएकाले यसले आम्दानीको नयाँ आधार तयार गरेको छ। व्यापारीहरू बगैँचामै पुगेर फल खरिद गर्न थालेपछि बजारीकरणको झन्झट घटेको छ। किसान होमबहादुर ठाडाले परम्परागत बालीको तुलनामा किवीबाट वार्षिक लाखौँ आम्दानी लिन सकिने बताए। थोरै जमिनमा पनि व्यावसायिक उत्पादन सम्भव भएकाले साना किसानका लागि यो खेती थप प्रभावकारी बनेको छ।
स्थानीय तह र कृषि विकास कार्यालय सिन्धुलीले प्राविधिक तथा आर्थिक सहयोग उपलब्ध गराउँदै आएका छन्। कार्यालयका प्रमुख अनुप अधिकारीका अनुसार महाभारत क्षेत्रमा खेती विस्तारका लागि किसानलाई प्रोत्साहित गरिएको छ। यद्यपि, खेतीलाई दिगो बनाउन गुणस्तरीय बिरुवा, मलखादको प्रयोग र रोग व्यवस्थापनसम्बन्धी प्राविधिक ज्ञानको आवश्यकता रहेको छ। किसान साङगे लामाले बिरुवा छनोटदेखि बगैँचा व्यवस्थापनसम्म विशेष ध्यान दिनुपर्ने बताएका छन्।
नागीलाई जिल्लाकै प्रमुख किवी उत्पादन क्षेत्रका रूपमा विकास गर्न भण्डारण र प्रशोधनको व्यवस्था महत्त्वपूर्ण हुने किसानको भनाइ छ। कृषि प्राविधिक सहयोग र बजारको सुनिश्चितता कायम राख्न सके स्थानीयको आयआर्जनमा थप सुधार आउने देखिन्छ। हाल सिन्धुलीको फिक्कल र सुनकोसी गाउँपालिकाको महाभारत क्षेत्रमा किवी खेती विस्तार भइरहेको छ।

