काठमाडौं: पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरु गरेको फ्लाइ दुबईले एक महिना पूरा गरेको छ। गत असोज ७ गतेदेखि सुरु भएको उक्त सेवाबाट हालसम्म ६ हजार ३६२ यात्रुले सेवा लिएका छन्।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार एक महिनाको अवधिमा कुल ३० वटा उडान भएका छन्। जसमा दुबईबाट पोखरा आउने चार हजार ५२१ र पोखराबाट दुबई जाने एक हजार ८४१ यात्रु रहेका छन्। निरौलाले दशैँ र तिहारका कारण दुबईबाट आउने यात्रुको संख्यामा वृद्धि भएको र समग्रमा पहिलो महिनाको उडान उत्साहजनक रहेको बताए। उनले भने, “सबैको साथ र प्रयासबाट पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान नियमित र दीर्घकालिन हुने विश्वास गर्न सकिन्छ। यसमा सरकारी तथा निजी क्षेत्रले मिलेर प्रवद्धनात्मक काम गर्नुपर्छ।”
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उडानको पहिलो महिनाको उपलब्धिलाई सकारात्मक मान्दै पोखराबाट दुबई जाने यात्रुको संख्या बढाउनुपर्नेमा जोड दिए। उनले उडानलाई दिगो बनाउन सन् २०२७ को अक्टोबरसम्म टिकट बुकिङ खुला गरेकोमा फ्लाइ दुबईको व्यवस्थापनलाई धन्यवाद व्यक्त गरे। आचार्यले गण्डकी प्रदेशका नागरिक र व्यवसायीलाई पोखराबाटै अन्तर्राष्ट्रिय यात्रा गर्न आग्रह गरे। फ्लाइ दुबई र एमिरेट्सको सहकार्यमा विश्वका ३०० भन्दा बढी गन्तव्यमा यात्रा गर्न सकिने सुविधा रहेकाले पोखरालाई प्रस्थान बिन्दु बनाउनुपर्ने उनको भनाइ छ।
२०७९ पुस १७ गते उद्घाटन भएको पोखरा विमानस्थल लामो समयसम्म आन्तरिक उडानमा मात्र सीमित थियो। फ्लाइ दुबईको नियमित उडान सुरु भएपछि यसले पर्यटन, व्यापार र क्षेत्रीय आर्थिक विकासमा सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ। यसले अन्य वायुसेवा कम्पनीलाई समेत पोखरामा उडान भर्न आकर्षित गरेको छ।

