मनाङ: अविरल वर्षाका कारण अवरुद्ध बेँसीसहर: चामे सडकखण्ड पुनः सञ्चालनमा आएको छ। मनाङ मर्स्याङ्दी हाइड्रोपावर कम्पनीको सहयोगमा छ दिनभित्रै सो सडक मर्मत गरी यातायात सेवा सुचारु गरिएको हो। गत असोजमा चार दिनसम्म परेको भारी वर्षाले सडकका विभिन्न स्थानमा पहिरो खस्नुका साथै बाढीले सडक कटान गरेको थियो।
बुटवल पावर कम्पनीका संयोजक प्रतीकमानसिंह प्रधानले कम्पनीले आवश्यक उपकरण, जनशक्ति, इन्धन तथा अन्य सामग्री परिचालन गरी सडक खुलाउन सफल भएको जानकारी दिए। उनका अनुसार सडकखण्डका केही स्थानमा आधारभूत संरचनासमेत क्षतिग्रस्त भएका थिए। प्रधानले भने, “अन्य जलविद्युत् आयोजना र स्थानीय सडकसम्बन्धी निकायसँग समन्वय गरी करिब ६० किलोमिटर बेँसीसहर-चामे सडक छ दिनमै सञ्चालनमा ल्याउन सफल भएका छौँ।”
चामेनजिकको एक खोलामा आएको बाढीले नदीको बहाव अवरुद्ध गरी ताल बनाएको थियो। सरकारसँग सहकार्य गर्दै कम्पनीले एक्स्काभेटर लगायतका उपकरण र डिजेल उपलब्ध गराएर उद्धार तथा विपद् व्यवस्थापनको काम गरेको हो। कम्पनीले यसअघि पनि उक्त सडकखण्डको मर्मतसम्भार र आपत्कालीन पुनःस्थापनाका लागि जनशक्ति परिचालन गर्दै आएको जनाएको छ। सडक पुनः सञ्चालनमा आएसँगै मनाङका १३ गाउँका करिब ५,६०० स्थानीय बासिन्दा लाभान्वित भएका छन्।

