काठमाडौं। तिहार र छठ पर्व नजिकिएसँगै नेपालगन्जका कुम्हाल समुदायलाई माटोका भाँडा बनाउन भ्याइनभ्याइ भएको छ। चाडपर्वमा दियो र अन्य माटाका भाँडाको माग अत्यधिक हुने भएकाले उनीहरू दिनरात काममा व्यस्त छन्।
नेपालगन्ज-३ का दिपक कुम्हालले आधुनिकताका कारण माटोको भाँडाको प्रयोग घट्दै गए पनि तिहारको समयमा भने माग उच्च रहने बताए। उनले पर्वका लागि आवश्यक पर्ने दियो र अन्य भाँडा बनाउन आफूहरू अहिले व्यस्त रहेको जानकारी दिए।
त्यस्तै, नेपालगन्ज-१३ का रमेश कुम्हालले यो पेसाबाट जीविकोपार्जन गर्न कठिनाइ भए पनि पुख्र्यौली संस्कृतिको संरक्षणका लागि आफूले कामलाई निरन्तरता दिएको बताए। उनका अनुसार धेरै युवाले यो पेसा छाडिसकेका छन् तर आफू भने पुर्खाको पेसा जोगाउन लागिपरेका छन्।
अर्का कुम्हाल दिपक कुम्हालले बजारको मागअनुसार घैँटा, दियो, पाला र भुर्की बनाइरहेको बताउनुभयो। विशेषगरी तिहारमा दियोको माग बढी हुने भएकाले अहिलेबाटै ठूलो संख्यामा उत्पादन सुरु गरिएको छ। उनले गत वर्ष तिहारको अवधिमा मात्र ३० हजारभन्दा बढी दियो बिक्री गरेको र प्रतिदियो एक रुपैयाँमा बिक्री गर्ने गरेको जानकारी दिए।
नेपालगन्जको त्रिभुवन चोक, सदरलाइन, त्रिवेणी मोड र धम्बोझी चोकमा माटोका भाँडाको व्यापार बढी हुने गरेको छ। दसैं र तिहारको समयमा यी स्थानमा धेरै व्यापारीले माटोका भाँडा बिक्री गर्ने गर्दछन्।
