काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले क्यानडाबाट आयात हुने केही वस्तुमा लगाइएको भन्सार शुल्क घटाउने निर्णय गरेको छ।
अमेरिकी मध्यावधि निर्वाचन हुन दुई साताभन्दा कम समय बाँकी रहँदा ह्वाइट हाउसले यस्तो कदम चालेको हो।
ह्वाइट हाउसका अनुसार अक्टोबर ३० देखि प्लाइउड, केही कागजजन्य सामग्री, निश्चित प्रकारका मेसिनरी तथा रेफ्रिजरेसन उपकरणमा लगाइएको शुल्क घटाइनेछ।
अमेरिकी सिनेटर सुसान कोलिन्सले आफ्नो राज्य मेनको कृषि उद्योगलाई राहत दिन आफूले पहल गरेको जानकारी दिएकी छन्। उनी नोभेम्बरमा हुने मध्यावधि निर्वाचनमा आफ्नो सिट जोगाउने प्रतिस्पर्धामा छिन्।
अमेरिकाले अगस्टमा व्यापार वार्ता असफल भएपछि करिब २० अर्ब अमेरिकी डलर बराबरका क्यानडेली वस्तुमा ५० प्रतिशत भन्सार शुल्क लगाएको थियो।
यसको जवाफमा क्यानडाले पनि अमेरिकी सामानमा प्रतिकारात्मक शुल्क लगाएको थियो। ह्वाइट हाउसले केही वस्तुमा शुल्क घटाउने निर्णय गरे पनि कार्पेट र केही फोहोरजन्य सामग्रीमा भने शुल्क कायम रहने जनाएको छ।
क्यानडाका आन्तरिक व्यापारमन्त्री डोमिनिक लेब्लाङले पछिल्लो निर्णयको समीक्षा भइरहेको बताउँदै दुवै देशको हित हुने व्यापार सम्बन्धका लागि रचनात्मक रूपमा काम गर्न क्यानडा तयार रहेको उल्लेख गरेका छन्।
अमेरिकामा हुने मध्यावधि निर्वाचनले संसद्का दुवै सदनमा राष्ट्रपति ट्रम्पको रिपब्लिकन पार्टी वा विपक्षी डेमोक्रेटिक पार्टीमध्ये कसको नियन्त्रण रहने भन्ने निर्धारण गर्नेछ। यसले ट्रम्पको कार्यकालको बाँकी दुई वर्षमा उनको नीतिगत क्षमतामा प्रभाव पार्नेछ।

