काठमाडौं। अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आईईए) का प्रमुख फातिह बिरोलले युरोप ऐतिहासिक रूपमा न्यून प्राकृतिक ग्यास भण्डारसहित जाडोयाममा प्रवेश गरिरहेको भन्दै थप आपूर्ति अवरोध थेग्न कठिन हुने चेतावनी दिएका छन्।
मध्यपूर्वमा जारी द्वन्द्वका कारण विश्वव्यापी ऊर्जा आपूर्ति शृङ्खला प्रभावित भइरहेको अवस्थामा उनले यस्तो चिन्ता व्यक्त गरेका हुन्।
जर्मनीको बर्लिनमा आयोजित एक सम्मेलनमा बोल्दै बिरोलले स्ट्रेट अफ होर्मुजमा देखिएको अवरोधले विश्वभर असर गरिरहेको बताए।
युरोपेली संघ (ईयू) को प्राकृतिक ग्यास भण्डारण क्षमता हाल करिब ७२ प्रतिशत मात्र भरिएको छ, जुन सामान्यतया जाडो सुरु हुँदा ९० प्रतिशतसम्म रहने गर्दथ्यो। बिरोलका अनुसार युरोपको ग्यास भण्डार ऐतिहासिक औसतभन्दा निकै कम रहेको छ।
यदि यस वर्षको जाडो अत्यधिक चिसो भएमा युरोपमा प्राकृतिक ग्यासको मूल्य अझ बढ्न सक्ने उनले बताए। ऊर्जा क्षेत्रमा बढ्दो राजनीतिक स्वार्थका कारण अनिश्चितता थपिएको छ।
यसअघि युक्रेनमाथि रुसको आक्रमणपछि युरोपले रुसी ऊर्जामाथिको निर्भरता घटाउने प्रयास गरेको थियो, तर खाडी क्षेत्रको पछिल्लो संकटका कारण केही मुलुकले पुनः आयात बढाएका छन्।
विश्लेषकहरूका अनुसार अहिलेको भण्डारण कमीले १ करोडदेखि १ करोड २० लाख घरपरिवारलाई आवश्यक पर्ने ऊर्जा बराबरको असर पार्न सक्छ। यसैबीच, डिजेलजस्ता प्रशोधित इन्धनको अभाव हुने जोखिम पनि बढेको छ।
युक्रेनले रुसी तेल प्रशोधन केन्द्रहरूमा गरेको आक्रमणले विश्व बजारमा डिजेल आपूर्तिको करिब एकतिहाइ हिस्सा प्रभावित भएको बिरोलले जानकारी दिए।
फेब्रुअरीयता प्राकृतिक ग्यासको मूल्य १४० प्रतिशतले बढेको छ भने ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघेको छ। बिरोलले होर्मुज र बाब अल-मन्देब जलमार्ग निर्बाध रूपमा सञ्चालनमा नआए ऊर्जाको मूल्य नियन्त्रणमा राख्न निकै कठिन हुने चेतावनी दिए। ‘दुवै जलमार्ग सर्तरहित रूपमा चाँडै खुलून् भन्ने मेरो आशा छ,’ उनले भने।

