काठमाडौं: ललितपुरको कुसुन्ती हाइटमा निर्माण भइरहेको लिफ्टसहितको आकासे पुल अन्तिम चरणमा पुगेको छ। महानगरपालिकाले यस पुललाई छठ पर्वअघि वा त्यसलगत्तै सञ्चालनमा ल्याउने लक्ष्य राखेको छ। यद्यपि, उद्घाटनको आधिकारिक मिति भने अझै तय भइसकेको छैन।
ललितपुर महानगरपालिका-१३ स्थित चक्रपथ क्षेत्रमा निर्माणाधीन यो पुलको लागत करिब ४ करोड ६८ लाख रुपैयाँ रहेको छ। २०८० फागुनमा निर्माण कार्य सुरु भएको यो पुल एक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो। तर, प्राविधिक समस्या र निर्माण प्रक्रियामा देखिएका विभिन्न जटिलताका कारण काम तोकिएको समयमा पूरा हुन सकेन।
पुलमा दुवैतर्फ लिफ्टको सुविधा जडान गरिएको छ। यसले विशेषगरी ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, बिरामी र बालबालिकालाई सहज रूपमा सडक वारपार गर्न मद्दत पुर्याउने विश्वास गरिएको छ। व्यस्त चक्रपथमा पैदलयात्रीको सुरक्षा सुनिश्चित गर्न र सवारी दुर्घटनाको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले यो संरचना निर्माण गरिएको हो। लिफ्टसहितको सुविधाका कारण यो पुल स्थानीय सर्वसाधारणका लागि चासोको विषय बनेको छ।

