काठमाडौं: कर्णाली प्रदेशमा ट्राफिक नियम उल्लंघन गर्ने सवारी साधनमाथि गरिएको कारबाहीबाट १२ दिनको अवधिमा १२ लाख २५ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतका अनुसार गत असोज २६ गतेदेखि कात्तिक ६ गतेसम्मको अवधिमा एक हजार ३३८ सवारी साधन कारबाहीमा परेका थिए।
कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक हरिबहादुर बिसीले दिएको जानकारी अनुसार सबैभन्दा बढी राजस्व सुर्खेतबाट उठेको छ। सुर्खेतमा मात्र ६३८ सवारी साधन कारबाहीमा पर्दा पाँच लाख ८२ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ। यसैगरी सल्यानमा २२२ सवारी साधनबाट दुई लाख १८ हजार ५००, रुकुमपश्चिममा १२७ सवारी साधनबाट एक लाख ४५ हजार, दैलेखमा ९९ सवारी साधनबाट ९४ हजार, जुम्लामा ६७ सवारी साधनबाट ७३ हजार र जाजरकोटमा ६८ सवारी साधनबाट ६१ हजार ५०० रुपैयाँ राजस्व सङ्कलन भएको छ।
बाँकी जिल्लाहरूमध्ये कालीकोटमा ८२ सवारी साधनबाट १७ हजार, डोल्पामा १८ सवारी साधनबाट १७ हजार, हुम्लामा १५ सवारी साधनबाट १५ हजार र मुगुमा तीन सवारी साधनबाट दुई हजार रुपैयाँ राजस्व सङ्कलन भएको प्रहरीले जनाएको छ।
यस अवधिमा मादकपदार्थ सेवन गरी सवारी साधन चलाउने २४६ जना चालकलाई पनि कारबाही गरिएको छ। जसमा सुर्खेतमा १५७, सल्यानमा ४६, दैलेखमा १७, रुकुम पश्चिममा नौ, जुम्लामा सात, कालीकोटमा पाँच, जाजरकोटमा चार र डोल्पामा एक जना रहेका छन्।

