काठमाडौं । भारतको रिलायन्स समूहअन्तर्गतको जियो प्लेटफर्म्सको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मा करिब १ करोड ३९ लाख आवेदन परेका छन्। यससँगै कम्पनीले भारतीय सेयर बजारमा आवेदन संख्याको नयाँ कीर्तिमान कायम गरेको छ।
अक्टोबर २१ देखि २३ सम्म खुलेको आईपीओमा जारी सेयरको तुलनामा २२.१९ गुणा बढी माग परेको थियो। योग्य संस्थागत लगानीकर्ता समूहबाट ७०.५५ गुणा, गैर-संस्थागत समूहबाट १४ गुणा र खुद्रा लगानीकर्ताबाट २.७२ गुणा आवेदन परेको छ।
जियो प्लेटफर्म्सले आईपीओमार्फत करिब ३० हजार २१३ करोड भारु जुटाउने लक्ष्य राखेको छ। प्रतिकित्ता १ हजार ६५ देखि १ हजार ११९ भारु मूल्य तोकिएको निष्कासनबाट प्राप्त रकमको ठूलो हिस्सा रिलायन्स जियो इन्फोकमको ऋण भुक्तानीमा प्रयोग गर्ने कम्पनीको योजना छ।
यसअघि सन् २०२४ मा वारी इनर्जिजको आईपीओमा करिब ९७ लाख ३४ हजार आवेदन परेको थियो। जियोको आईपीओमा परेको आवेदनले उक्त रेकर्डलाई उछिनेको हो।
प्रारम्भिक तालिकाअनुसार आईपीओको सेयर बाँडफाँट अक्टोबर २६ र सूचीकरण अक्टोबर २८ मा हुने उल्लेख छ। यद्यपि, आईपीओमा उच्च माग पर्दैमा सूचीकरणपछि सेयर मूल्य बढ्ने वा लगानीकर्ताले नाफा कमाउने निश्चित हुँदैन।

