बुटवल: बुद्ध जन्मस्थल लुम्बिनीमा यस वर्षको दसैँ अवधिमा पर्यटकको आगमनमा ५४ प्रतिशतले वृद्धि भएको छ। लुम्बिनी विकास कोषको तथ्यांकअनुसार गत वर्षको तुलनामा यस वर्ष नेपाली, भारतीय तथा तेस्रो मुलुकका पर्यटकको संख्यामा उल्लेख्य सुधार देखिएको हो।
कोषको सूचना, जनसम्पर्क तथा आतिथ्य सत्कार शाखाले सार्वजनिक गरेको तथ्यांकअनुसार सन् २०२५ को सेप्टेम्बर २२ देखि अक्टोबर ७ सम्म २९ हजार ७८७ जनाले लुम्बिनी भ्रमण गरेका थिए। सन् २०२६ को अक्टोबर ११ देखि २५ सम्मको दसैँ अवधिमा यो संख्या बढेर ४५ हजार ९३४ पुगेको छ। यस अवधिमा कुल १६ हजार १४७ जना पर्यटक थपिएका छन्।
तथ्यांकअनुसार भारतीय पर्यटकको आगमनमा ६०.८६ प्रतिशतको वृद्धि देखिएको छ। गत वर्ष १५ हजार २६६ जना भारतीय पर्यटक आएकामा यस वर्ष २४ हजार ५५७ जना पुगेका छन्। त्यस्तै, नेपाली पर्यटकको संख्या ७८.९४ प्रतिशतले बढेर ७ हजार ६५६ बाट १३ हजार ७०० पुगेको छ। तेस्रो मुलुकका पर्यटकको संख्या पनि १६.७६ प्रतिशतले बढेर ५ हजार ६५१ पुगेको कोषले जनाएको छ।
लुम्बिनी विकास कोषका सूचना अधिकारी डा. हरिध्वज राईका अनुसार दसैँको बिदामा नेपाल र भारत दुवैतर्फ घुमफिर गर्ने प्रचलन बढ्नु र लुम्बिनी सुरक्षित गन्तव्यका रूपमा रहनु पर्यटक वृद्धिको मुख्य कारण हो। अन्य क्षेत्रमा बाढीपहिरोको जोखिम रहेका बेला लुम्बिनीको सुरक्षित वातावरणले पर्यटकलाई आकर्षित गरेको उनले बताए।
