काठमाडौं: मोरङको कानेपोखरी गाउँपालिका-२ मा निर्माण गरिएको १३२ केभी क्षमताको केरौन सबस्टेसनको निर्माण कार्य सम्पन्न भएको छ। यस सबस्टेसनले मोरङ र आसपासका क्षेत्रमा विद्युत् आपूर्तिलाई थप भरपर्दो र गुणस्तरीय बनाउने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।
प्राधिकरणका अनुसार कात्तिक १४ गते शनिबार र १५ गते आइतबार सबस्टेसन चार्ज गर्ने तयारी गरिएको छ। यस कार्यका लागि दुहवी-दमक १३२ केभी प्रसारण लाइनमा लुप-इन र लुप-आउट गरिनेछ। सोही कारण शनिबार र आइतबार बिहान ४ बजेदेखि मध्यान्ह १२ बजेसम्म झापा, इलाम, पाँचथर र ताप्लेजुङका सम्पूर्ण भागका साथै मोरङको उर्लाबारी र पथरी आसपासका क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुनेछ।
सबस्टेसनमा १३२/३३ केभीका ६३ एमभीएका दुई र ३३/११ केभीको २२.५ एमभीए क्षमताको पावर ट्रान्सफर्मर जडान गरिएको छ। यसको कुल क्षमता १४८.५ एमभीए रहेको छ। आयोजना प्रमुख दर्शन राय यादवका अनुसार सबस्टेसनबाट स्थानीय स्तरमा विद्युत् वितरणका लागि ११ केभीका ५ वटा फिडर लाइन र केरौन-रङ्गेली तथा केरौन-विराटचोक ३३ केभी डबल सर्किट लाइन निर्माण गरिएको छ।
प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले सबस्टेसन सञ्चालनमा आएपछि प्राविधिक चुहावट घट्ने र भोल्टेजमा सुधार आउने बताए। उनले भने, ‘अब ३३ केभी लाइनको लम्बाइ घट्दा चुहावट पनि घट्छ, साथै भोल्टेजमा सुधार भई विद्युत् आपूर्ति विश्वसनीय र गुणस्तरीय बन्नेछ।’ यसअघि सो क्षेत्रमा करिब ५० किलोमिटर लामो ३३ केभी लाइनबाट विद्युत् आपूर्ति हुँदा ट्रिपिङको समस्या थियो।
करिब एक अर्ब रुपैयाँ लागत रहेको यो आयोजना २०७८ असारमा ठेक्का सम्झौता भएर निर्माण सुरु भएको थियो। यसमा नेपाल सरकार, नेपाल विद्युत् प्राधिकरण र एसियाली विकास बैंक (एडिबी) को सहुलियतपूर्ण ऋण लगानी रहेको छ।
