काठमाडौं । डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालको अध्यक्षमा कामना सेवा विकास बैंकका अध्यक्ष दिनेश थकाली सर्वसम्मत निर्वाचित भएका छन् ।
एसोसिएसनको कात्तिक १३ गते सम्पन्न २१औँ वार्षिक साधारण सभाले थकालीको नेतृत्वमा नौ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गरेको हो ।
नयाँ कार्यसमितिको उपाध्यक्षमा गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद उपाध्याय, सचिवमा ज्योति विकास बैंकका प्रमुख कार्यकारी अधिकृत कपिल ढकाल र कोषाध्यक्षमा महालक्ष्मी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत दिपेश लम्साल निर्वाचित भएका छन् ।
कार्यसमिति सदस्यमा मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत तारा मानान्धर, लुम्बिनी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन आचार्य, सांग्रिला डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत रविन सिजापति, ग्रिन डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत हरिबहादुर बुढाथोकी र मितेरी डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत अनन्तकुमार चापागाईं निर्वाचित भएका छन् ।
यसअघि एसोसिएसनका अध्यक्ष सुयोग श्रेष्ठले सांग्रिला डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृतको कार्यकाल पूरा गरी बाहिरिएपछि थकालीले कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हालेका थिए ।
थकालीकै अध्यक्षतामा सम्पन्न साधारण सभाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण पारित गरेको छ ।
त्यस्तै, चालु आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्तावसमेत अनुमोदन गरेको छ ।
पदभार ग्रहण गर्दै नवनिर्वाचित अध्यक्ष थकालीले विकास बैंकिङ क्षेत्रमा संस्थागत सुशासन, जोखिम व्यवस्थापन, डिजिटल रूपान्तरण, मानव संसाधनको क्षमता अभिवृद्धि, कर्जाको गुणस्तर र असुली सुधारलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाएका छन् ।
उनले सदस्य बैंकहरूबीच उत्कृष्ट अभ्यास तथा ज्ञानको आदानप्रदानलाई निरन्तरता दिँदै विकास बैंकिङ क्षेत्रको संस्थागत क्षमता अभिवृद्धिमा जोड दिने बताए ।
नेपालमा हाल आठवटा राष्ट्रिय स्तरका र नौवटा क्षेत्रीय स्तरका गरी कुल १७ वटा विकास बैंक सञ्चालनमा छन् ।
