काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले स्थापनाको २२ वर्ष पूरा गरी २३औँ वर्षमा प्रवेश गरेको छ । बैंकले २२औँ वार्षिकोत्सवका अवसरमा शुक्रबार काठमाडौंको बालुवाटारस्थित केन्द्रीय कार्यालयमा विशेष कार्यक्रम आयोजना गरेको छ ।
कार्यक्रममा बैंक सञ्चालक समितिका अध्यक्ष उज्ज्वल सत्यालले बैंकको यात्रामा साथ दिने संस्थापक, सञ्चालक समिति, ग्राहक, सेयरधनी, कर्मचारी तथा नियामक निकायप्रति आभार व्यक्त गरे ।
बैंकका प्रमुख कार्यकारी अधिकृत रविन सिजापतिले आगामी दिनमा बैंकिङ सेवालाई अझ स्मार्ट, आधुनिक र प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता जनाए ।
वार्षिकोत्सवका अवसरमा बैंकले विभिन्न सामाजिक उत्तरदायित्व कार्यक्रमसमेत घोषणा गरेको छ । बैंकले हुम्लाको सिमकोटस्थित डाँडाफया स्वास्थ्य चौकीमा महिलाका लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने जनाएको छ । शिविरमा स्त्री तथा प्रसूति रोग विशेषज्ञमार्फत स्वास्थ्य सेवा उपलब्ध गराइनेछ ।
त्यस्तै, सिमकोट–२ हुम्लास्थित श्री रामदेव माध्यमिक विद्यालयका १०३ विद्यार्थीलाई विद्यालय पोसाक तथा शैक्षिक सामग्री वितरण गरिने बैंकले जनाएको छ ।
बैंकले रोल्पाको सुनिलस्मृति गाउँपालिका–२ स्थित खुंग्री स्वास्थ्य चौकीलाई एक थान बेबी वार्मर र एक थान अटोक्लेभ ड्रम सेट उपलब्ध गराउने घोषणा गरेको छ ।
वार्षिकोत्सवकै अवसरमा बैंकमा पाँच र १० वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीलाई मायाको चिनो प्रदान गरिएको थियो ।
सांग्रिला डेभलपमेन्ट बैंकले हाल १०९ शाखा कार्यालय र ३० एटीएममार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ । संस्थागत सुशासन, जोखिम व्यवस्थापन तथा आन्तरिक नियन्त्रण प्रणालीलाई प्राथमिकता दिँदै बैंकिङ सेवाको पहुँच थप विस्तार गर्ने बैंकको योजना छ ।
