काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा नोक्सानीबाट नाफामा फर्किएको छ। गत आर्थिक वर्षको सोही अवधिमा २२ करोड रुपैयाँभन्दा बढी खुद नोक्सानीमा रहेको बैंकले यस वर्ष १० करोड ७७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।
गत आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकको खुद नोक्सानी २२ करोड ४ लाख ११ हजार रुपैयाँ थियो। चालु आर्थिक वर्षको सोही अवधिमा बैंकले १० करोड ७७ लाख ३ हजार रुपैयाँ खुद नाफा कमाएको छ। यससँगै बैंकको वित्तीय नतिजामा ३२ करोड ८१ लाख रुपैयाँको सुधार आएको छ।
बैंकको आधारभूत प्रतिसेयर आम्दानी पनि ऋणात्मक अवस्थाबाट सकारात्मक बनेको छ। गत वर्षको पहिलो त्रैमासमा माइनस ५.९७ रुपैयाँ रहेको प्रतिसेयर आम्दानी अहिले २.६८ रुपैयाँ पुगेको छ।
बैंकको वितरणयोग्य घाटामा पनि उल्लेख्य कमी आएको छ। गत वर्षको पहिलो त्रैमासमा १ अर्ब १९ करोड २९ लाख रुपैयाँ ऋणात्मक रहेको वितरणयोग्य रकम अहिले ४५ करोड ७७ लाख रुपैयाँमा सीमित भएको छ। यसअनुसार वितरणयोग्य घाटा ७३ करोड ५२ लाख रुपैयाँ अर्थात् करिब ६१.६३ प्रतिशतले घटेको छ।
गत आर्थिक वर्षमा वितरणयोग्य घाटा ठूलो भए पनि बैंकले वर्षको अन्त्यको वित्तीय नतिजाका आधारमा ४ प्रतिशत लाभांश वितरण गरेको थियो। यस वर्ष खुद नाफा सकारात्मक हुनु र वितरणयोग्य घाटा घट्नुले सेयरधनीको प्रतिफल क्षमतामा सुधारको सम्भावना देखाएको छ।
तर बैंकको वितरणयोग्य रकम अझै ऋणात्मक छ। सञ्चित आम्दानी पनि ४४ करोड ८४ लाख रुपैयाँ ऋणात्मक रहेकाले अहिलेको वित्तीय विवरणले लाभांश सुनिश्चित गर्दैन। आगामी त्रैमासमा आम्दानी र कर्जा असुलीमा हुने सुधारले लाभांश क्षमता निर्धारण गर्नेछ।
बैंकलाई नाफामा फर्काउन सम्भावित कर्जा नोक्सानी व्यवस्थापन खर्चमा आएको कमीले महत्वपूर्ण भूमिका खेलेको छ। गत वर्षको पहिलो त्रैमासमा १ अर्ब ७३ करोड ७५ लाख रुपैयाँ रहेको इम्पियरमेन्ट खर्च यस वर्ष ३७.९३ प्रतिशतले घटेर १ अर्ब ७ करोड ८५ लाख रुपैयाँमा झरेको छ। यसबाट बैंकको खर्च भार करिब ६५ करोड ९० लाख रुपैयाँले घटेको छ।
बैंकको व्यवसाय पनि विस्तार भएको छ। गत वर्षको असोज मसान्तको तुलनामा निक्षेप १२.७८ प्रतिशतले बढेर २ खर्ब ४२ अर्ब ७३ करोड रुपैयाँ पुगेको छ। कर्जा तथा सापटी ४.२१ प्रतिशतले बढेर १ खर्ब ८३ अर्ब ५० करोड रुपैयाँ पुगेको छ।
त्यस्तै, खुद शुल्क तथा कमिसन आम्दानी ५.०७ प्रतिशतले बढेर ३६ करोड ८८ लाख रुपैयाँ पुगेको छ। यसले बैंकको गैरब्याज आम्दानीमा पनि सुधार भएको देखाउँछ।
बैंकको स्रोत लागत घट्नु अर्को सकारात्मक पक्ष हो। निक्षेपको लागत गत वर्षको असोजमा ४.०५ प्रतिशत रहेकोमा अहिले ३.१५ प्रतिशतमा झरेको छ। आधारदर पनि ५.९० प्रतिशतबाट घटेर ४.८७ प्रतिशत पुगेको छ।
स्रोत लागतमा आएको कमीले बैंकलाई प्रतिस्पर्धी ब्याजदरमा कर्जा विस्तार गर्न सहयोग पुग्न सक्छ। अब बैंकको मुख्य चुनौती नाफालाई निरन्तरता दिनु, वितरणयोग्य घाटा पूर्ति गर्नु र कर्जाको गुणस्तर सुधार गर्दै सेयरधनीको प्रतिफल क्षमता बलियो बनाउनु हुनेछ।
