काठमाडौं: फोटोन मोटर्स नेपालले भाटभटेनी सुपरमार्केटलाई १४ वटा टीएम१ विद्युतीय व्यावसायिक सवारीसाधन हस्तान्तरण गरेको छ। एम ए डब्लु वृद्धि कमर्सियल भेइकल्स् प्रा.लि. अन्तर्गत सञ्चालित फोटोन मोटर्सले वातावरणमैत्री यातायात प्रणालीको विकास गर्ने उद्देश्यसहित उक्त सवारीसाधन उपलब्ध गराएको हो।
Together Towards Greener Future भन्ने नाराका साथ आयोजित कार्यक्रममा बोल्दै एम ए डब्लु वृद्धि कमर्सियल भेइकल्स्का प्रमुख कार्यकारी अधिकृत अनिल कुमार बरालले भाटभटेनीजस्तो संस्थासँगको सहकार्यले नेपालमा विद्युतीय व्यावसायिक सवारीसाधनको प्रयोग बढाउन सहयोग पुग्ने बताए। उनले भने, ‘१४ वटा फोटोन टीएम१ विद्युतीय सवारीसाधनको हस्तान्तरण व्यवसायिक उपलब्धि मात्र नभई दिगो यातायातप्रतिको बढ्दो विश्वासको उदाहरण पनि हो।’
भाटभटेनी सुपरमार्केटका निर्देशक पहलमान गुरुङले संस्थाले वातावरणमैत्री व्यवसाय सञ्चालनलाई प्राथमिकता दिँदै आएको बताए। उनले फोटोन मोटर्ससँगको सहकार्यले दिगो ढुवानी प्रणाली विकास गर्न सहयोग पुग्ने र अन्य व्यवसायलाई पनि विद्युतीय सवारीसाधन प्रयोग गर्न प्रोत्साहित गर्ने विश्वास व्यक्त गरे।
भाटभटेनीले आफ्नो ढुवानी तथा वितरण प्रणालीमा यी सवारीसाधन समावेश गरेसँगै वातावरणीय प्रभाव कम हुने र सञ्चालन खर्चमा पनि बचत हुने अपेक्षा गरिएको छ। फोटोन टीएम१ विद्युतीय सवारीसाधन आफ्नो भरपर्दो कार्यक्षमताका कारण व्यावसायिक ढुवानीका लागि प्रभावकारी विकल्प मानिन्छ। यस हस्तान्तरणले नेपालको विद्युतीय व्यावसायिक सवारीसाधन बजारमा फोटोन मोटर्सको उपस्थिति थप बलियो बनाएको छ।
