काठमाडौं: पृथ्वी राजमार्गअन्तर्गतको मलेखु-मुग्लिङ सडकखण्ड आज सोमबार तीन घण्टा बन्द हुने भएको छ। सडकको मझिमटारमा आकाशे पुलको गर्डर राख्ने कार्यका लागि बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सवारी आवागमन पूर्ण रूपमा बन्द गर्न लागिएको हो।
नागढुङ्गा-मुग्लिङ सडक आयोजना पश्चिम खण्डका सूचना अधिकारी सचेन्द्र मिश्रका अनुसार उक्त समयमा यस सडकखण्ड भएर चल्ने सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइने छ। निर्माण कार्यलाई सुरक्षित र व्यवस्थित रूपमा सम्पन्न गर्न सवारी आवागमन रोक्नुपरेको उनले जानकारी दिए।
आयोजनाले सडक बन्द रहने अवधिमा चालक तथा यात्रुलाई धैर्यता अपनाउन, लेन अनुशासन कायम राख्न र ट्राफिक नियमको पूर्ण पालना गर्न आग्रह गरेको छ। साथै, सो अवधिमा यात्रा गर्ने सवारीसाधनलाई वैकल्पिक मार्ग प्रयोग गर्न पनि आयोजनाले अनुरोध गरेको छ।
