काठमाडौं: दक्षिण कोरियाले सन् २०२७ सम्ममा कृत्रिम बौद्धिकता (एआई) र सेमिकन्डक्टर क्षेत्रमा १६ अर्ब अमेरिकी डलर लगानी गर्ने घोषणा गरेको छ। राष्ट्रपति ली जे मयुङले संसद्मा प्रस्तुत गरेको बजेट योजनाअनुसार यो रकम चालु वर्षको तुलनामा झन्डै दोब्बर हो।
सरकारले एआई प्रविधिको विकासका लागि २१ खर्ब ३० अर्ब वन छुट्याएको छ। यसमध्ये चार खर्ब ७० अर्ब वन आफ्नै एआई नमुना तयार पार्न खर्च गरिनेछ। विश्वभर मेमोरी चिपको माग बढिरहेको सन्दर्भमा सामसङ इलेक्ट्रोनिक्स र एसके हाइनिक्स जस्ता प्रमुख उत्पादक रहेको दक्षिण कोरियाले यस क्षेत्रलाई प्राथमिकतामा राखेको हो।
सन् २०२७ का लागि कुल ८२१ खर्ब वनको बजेट प्रस्ताव गरिएको छ, जुन चालु वर्षको तुलनामा १२.८ प्रतिशतले बढी हो। यो दक्षिण कोरियाको इतिहासकै ठूलो बजेट प्रस्ताव मानिएको छ।
बजेटमा रक्षा क्षेत्रलाई पनि प्राथमिकता दिइएको छ। सरकारले रक्षा बजेट ८.२ प्रतिशतले बढाएर ७३ खर्ब ३० अर्ब वन पुर्याउने प्रस्ताव गरेको छ। राष्ट्रपति लीका अनुसार आणविक शक्तिबाट चल्ने पनडुब्बी, केएफ-२१ लडाकू विमान तथा एआई, रोबोट र ड्रोनमा आधारित सैन्य प्रणालीको विकासमा जोड दिइनेछ। यो बजेट कार्यान्वयनका लागि संसद्बाट स्वीकृति लिनुपर्नेछ।
