काठमाडौं: तिहारको अवसर पारेर पोखरामा नवौँ गोदावरी पुष्प प्रदर्शनी तथा पाँचौँ गण्डकी प्रदेश स्तरीय एवम् तेस्रो सयपत्री फूल मेला आयोजना हुने भएको छ। फ्लोरिकल्चर एशोसियसन नेपाल (फ्यान) कास्की शाखाले पोखरा महानगरपालिकाको प्रवर्द्धनमा यही कात्तिक १८ देखि २३ गतेसम्म पोखरा रंगशालामा मेला गर्न लागेको हो।
मेलामा २६ वटा स्टल रहनेछन्। जसमा २२ वटा व्यावसायिक, ३ वटा कृषि सामग्री र एउटा सूचनामूलक स्टल रहने आयोजकले जनाएको छ। प्रदर्शनीमा करिब ५० प्रजातिका गोदावरी फूलका साथै सयपत्री, सुनगाभा, बोन्साई र कट्फ्लावर राखिनेछन्। यस मेलाले स्वदेशी फूलको प्रयोगलाई बढावा दिने र पुष्प व्यवसायमा रुचि राख्नेहरूका लागि उपयोगी हुने अपेक्षा गरिएको छ। मेलामा ३५ हजारभन्दा बढीले अवलोकन गर्ने अनुमान गरिएको छ।
यस वर्ष अर्नव चक्रवातका कारण भएको वर्षा र जलवायु परिवर्तनले फूल उत्पादनमा असर पुगेको छ। किसान रमेशकुमार श्रेष्ठका अनुसार वर्षाका कारण सयपत्री फूलमा १५ देखि २० प्रतिशत क्षति पुगेको छ। पोखरा महानगरपालिकाका आर्थिक महाशाखा प्रमुख मनहर कडरियाले फूल उत्पादनमा गिरावट आउन सक्ने र त्यसले मूल्यमा समेत असर पार्न सक्ने बताएका छन्।
पोखरामा तिहारको समयमा २ देखि ३ करोड रुपैयाँ बराबरको फूल तथा मालाको माग हुने अनुमान छ। जसमध्ये ७० प्रतिशत माग स्थानीय उत्पादनले धान्ने गरेको छ। महानगरपालिकाले हालसम्म फूलको मूल्य निर्धारण गरिसकेको छैन। अघिल्ला वर्षहरूमा तौलका आधारमा मूल्य तोकिने गरिए पनि यस वर्ष केजीकै आधारमा मूल्य निर्धारण गर्ने तयारी भइरहेको छ। पोखरामा प्लाष्टिकका मालाको आयातमा भने प्रतिबन्ध लगाइएको छ।
