कास्की। पोखरा महानगरपालिका–१३ का कृषक शुक्रराज तिमिल्सिनाले यस वर्ष तिहारलाई लक्षित गरी दुई रोपनी क्षेत्रफलमा सयपत्री फूलखेती गरेका छन्।
गणेश कृषि फार्मका सञ्चालक तिमिल्सिनाले पशुपालन र तरकारी खेतीसँगै तीन वर्षदेखि फूल खेतीलाई व्यावसायिक रूपमा अघि बढाएका हुन्। गत वर्ष एक रोपनी जमिनमा सयपत्री फूल खेती गरेर राम्रो आम्दानी भएपछि उनले यस वर्ष खेती विस्तार गरेका हुन्।
“गत वर्ष एक रोपनीमा फूल लगाएर करिब रु एक लाख कमाएँ। यस वर्ष पहिलाको भन्दा दोब्बर क्षेत्रफलमा खेती गरेको छु। फूल पनि राम्रो भएको छ। आम्दानी पनि राम्रो हुने अपेक्षा गरेको छु”, उनले भने।
तिमिल्सिनालाई उत्पादित फूल बिक्री गर्न खासै समस्या छैन। कतिपय ग्राहक नर्सरीमै पुगेर आफूलाई आवश्यकपर्ने फूल खरिद गर्ने गरेका छन्। बाँकी फूल तिहार नजिकै आयोजना हुने पुष्प प्रदर्शनी तथा सयपत्री फूल मेलामा लगेर बिक्री गर्ने उनको योजना छ। फूल मेलाले स्थानीय कृषकलाई आफ्नो उत्पादन एकै ठाउँबाट उपभोक्तासम्म पु¥याउन सहज बनाउने उनको विश्वास छ।
फ्लोरिकल्चर एसोसिएसन नेपाल कास्कीले यस वर्ष नवौँ संस्करणको गोदावारी पुष्प प्रदर्शनी तथा पाँचौँ संस्करणको गण्डकी प्रादेशिक पुष्प एवं सयपत्री फूल मेला आयोजना गर्न लागेको छ।
यही कात्तिक १८ देखि २३ गतेसम्म पोखरा रङ्गशालास्थित खेल मैदानमा आयोजना हुने मेलामा स्थानीय कृषकले उत्पादन गरेका सयपत्री फूलसहित विभिन्न प्रजातिका फूल तथा बिरुवा बिक्री र प्रदर्शनीमा राखिनेछन्। तिहारमा फूलको माग बढ्ने भएकाले मेलाले कृषक र उपभोक्ता दुवैलाई लाभ पुग्नेछ।
स्थानीय फूल उत्पादक कृषकलाई बजार उपलब्ध गराउने र उपभोक्तालाई सहज रूपमा फूल तथा फूलका बिरुवा खरिद गर्ने वातावरण सिर्जना गर्ने उद्देश्य मेलाको छ।
एसोसिएसनका अध्यक्ष रामप्रसाद सुवेदीका अनुसार तिहार तथा छठ पर्वका अवसरमा फूलका पारखी र उपभोक्तालाई सहज रूपमा फूल तथा बिरुवा उपलब्ध गराउन मेला महत्वपूर्ण रहेको बताए।
“तिहार तथा छठ पर्वका समयमा पुष्पका पारखी र ग्राहकलाई सहज रूपमा फूल तथा बिरुवा उपलब्ध गराउन मेला सहयोगी हुँदै आएको छ। फूल तथा बिरुवाप्रति अभिरुचि राख्ने र यससम्बन्धी ज्ञान हासिल गर्न चाहनेका लागि मेला उपयोगी हुँदै आएको छ”, उनले भने।
उहाँका अनुसार संस्थामा आबद्ध ४२ वटा नर्सरी तथा पुष्प व्यवसायी फूल उत्पादन र बिक्रीवितरणमा आबद्ध छन्। यस वर्ष मेलामा २२ वटा व्यावसायिक प्रदर्शनी कक्ष, तीन वटा कृषि सामग्रीसम्बन्धी स्टल र एउटा सूचनामूलक प्रदर्शनी कक्ष गरी कूल २६ वटा प्रदर्शनी कक्ष रहनेछन्। प्रदर्शनीमा विगत वर्षदेखि व्यावसायिक रूपमा उत्पादन हुँदै आएका विभिन्न जात र प्रजातिका गोदावरी फूलका बिरुवाका साथै यस वर्ष भित्रिएका नयाँ प्रजातिका गोदावरी फूल राखिनेछन्।
मेलाले पुष्प व्यवसायीलाई आफ्ना उत्पादनको प्रचारप्रसार र बिक्री गर्ने अवसर प्रदान गर्नुका साथै उपभोक्तालाई विभिन्न प्रजातिका फूल तथा बिरुवाबारे जानकारी लिन र खरिद गर्न सहज बनाउने एसोसिएसनका सचिव खिमलाल सुवेदीले बताए।
तिहारमा फूलको माग उच्च हुने भएकाले स्थानीय उत्पादनलाई प्राथमिकता दिन मेलाले प्रोत्साहन गर्ने विश्वास उहाँको छ। पोखरामा वार्षिक रूपमा रु दुईदेखि रु तीन करोड बराबरको फूल कारोबार हुने गरेको महानगरपालिकाले जनाएको छ। यस वर्ष महानगरभित्र करिब २०० रोपनी क्षेत्रफलमा सयपत्री फूलखेती गरिएको छ।
पोखरा महानगरपालिकाको आर्थिक विकास महाशाखा प्रमुख मनोहरप्रसाद कडरियाका अनुसार पोखरामा खपत हुने फूलमध्ये करिब ७० प्रतिशत स्थानीय उत्पादनले धान्ने अवस्था छ।
महानगरपालिकाले बीउमा अनुदान, मल्चिङ प्लास्टिक तथा खेती प्रविधिमा सहयोग गर्दै आएपछि स्थानीयस्तरमा फूल उत्पादन बढ्दै गएको उनले बताए। “अन्य बाली छाडेर फूलखेती गर्ने कृषकको सङ्ख्या बर्सेनि बढ्दै गएको छ। पोखरामा उत्पादित फूलले माग धान्न नसक्ने अवस्थामा छिमेकी पालिका र जिल्लाबाट फूल ल्याउने गरिएको छ”, उनले भने।
स्थानीय कृषकले घरायसी प्रयोजनका लागि गाउँघरमा उत्पादन गर्ने फूललेसमेत बजारको माग पूरा गर्न सहयोग पु¥याउँदै आएको महानगरपालिकाले जनाएको छ।
