काठमाडौँ: नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा बुधबार सामान्य सुधार देखिएको छ। नेप्से परिसूचक १.४० अङ्कले बढेर २६६५.५३ को विन्दुमा पुगेर बन्द भएको छ। बजारमा झिनो सुधार देखिए पनि कारोबार रकम भने उत्साहजनक रहेको छ। दिनभरमा कुल ३५८ कम्पनीका २ करोड १२ लाख कित्ता सेयर ५९ हजार पटक किनबेच हुँदा ७ अर्ब ४३ करोड ९३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
यद्यपि, बजारमा बढ्ने कम्पनीभन्दा घट्ने कम्पनीको संख्या बढी छ। आज ९८ कम्पनीको सेयर मूल्य बढ्दा १७१ कम्पनीको मूल्य घटेको छ भने ९ कम्पनीको मूल्य स्थिर रहेको छ। आजको बजारमा नेपाल पुनर्बीमा कम्पनीको सेयर मूल्य १५ प्रतिशतले बढेर प्रतिकित्ता ९२१.७० रुपैयाँ पुगेको छ। मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले सो कम्पनीमा हकप्रद सेयर लगानीका लागि स्वीकृति दिएको थियो, जसको प्रभाव सेयर बजारमा देखिएको हो।
त्यस्तै, हिमालयन रि-इन्स्योरेन्सको मूल्य ११.४८ प्रतिशतले बढेको छ। समूहगत रूपमा अन्य समूह सर्वाधिक ६.८१ प्रतिशतले वृद्धि भएको छ भने व्यापार समूह १.११ प्रतिशतले बढेको छ। कारोबार रकमका आधारमा स्वेतगंगा हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। कम्पनीको ८५ करोड ८४ लाख रुपैयाँको सेयर किनबेच भएको छ। यसैगरी, घोराही सिमेन्टको ५१ करोड २४ लाख रुपैयाँ र हिमालयन रि-इन्स्योरेन्सको ३६ करोड ३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
