काठमाडौं: वायुयान तथा त्यसका पार्टपुर्जाको आयात: निर्यात प्रक्रियालाई सहज बनाउने उद्देश्यले भन्सार विभाग र नेपाल नागरिक उड्डयन प्राधिकरणबिच बुधबार सम्झौता भएको छ। नेपाल राष्ट्रिय एकद्वार प्रणाली (एनएनएसडब्ल्यू) मार्फत सेवा प्रवाह गर्ने लक्ष्यसहित दुई निकायबिच यो समझदारी भएको हो।
सम्झौताअनुसार अब वायुयान र यसका पार्टपुर्जा (एचएस कोड ८८०१ र ८८०२) आयात-निर्यात गर्दा आवश्यक पर्ने प्राधिकरणको सिफारिस तथा अनुमति अनलाइन प्रणालीबाटै प्राप्त गर्न सकिनेछ। यसअघि सिफारिस लिनका लागि विभिन्न सरकारी कार्यालयमा भौतिक रूपमा उपस्थित हुनुपर्ने र झन्झटिलो कागजी प्रक्रिया पूरा गर्नुपर्ने अवस्था थियो।
नयाँ व्यवस्थाले सेवा प्रवाहलाई थप छिटो, पारदर्शी र प्रविधिमैत्री बनाउने अपेक्षा गरिएको छ। यसले सरकारी निकायबिचको डिजिटल समन्वयलाई पनि बलियो बनाउने विश्वास लिइएको छ।
