काठमाडौं । दक्षिण एसियाको अर्थतन्त्रले पछिल्ला दुई दशकमा हासिल गरेको आर्थिक विस्तारको एउटा महत्वपूर्ण आधार युवा तथा कामकाजी उमेरको जनसंख्या हो।
बालबालिका र ज्येष्ठ नागरिकको तुलनामा काम गर्न सक्ने उमेरका मानिसको हिस्सा बढ्दै जाँदा यस क्षेत्रका देशले ठूलो जनसांख्यिकीय लाभांश प्राप्त गरे।
श्रम आपूर्ति विस्तार भयो, उपभोग बढ्यो, परिवारको आम्दानीमा सुधार आयो र उत्पादन तथा सेवाका क्षेत्रमा आर्थिक गतिविधि विस्तार गर्ने अवसर सिर्जना भयो। तर यो अवसर अब क्रमशः कमजोर हुँदै गएको छ।
दक्षिण एसियामा अहिले १ अर्ब १७ करोड काम गर्ने उमेरका मानिस छन्।
यो विश्वकै सबैभन्दा ठूलो श्रमशक्ति आधारमध्ये एक हो। तर यही जनशक्तिको अनुपात अब उच्च विन्दुमा पुगेर घट्न थाल्ने अवस्थामा छ।
आगामी एक दशकभन्दा कम समयमा यस क्षेत्रको कामकाजी उमेरको जनसंख्याको हिस्सा उच्च विन्दुमा पुग्ने र त्यसपछि क्रमशः घट्ने विश्व बैंकको प्रक्षेपण छ। सन् २०४९ सम्ममा ६५ वर्ष वा सोभन्दा माथिका नागरिकको हिस्सा १४ प्रतिशत पुग्ने अनुमान गरिएको छ।
जनसंख्याको यस्तो संरचनालाई जनसांख्यिकीय भाषामा वृद्ध समाज अर्थात् ‘एज्ड सोसाइटी’ भनिन्छ।
विश्व बैंकले नोभेम्बर ३, २०२६ मा सार्वजनिक गरेको ‘डेमोग्राफिक चेन्ज इन साउथ एसिया : फ्रम टेलविन्ड्स टु हेडविन्ड्स फर डेभलपमेन्ट’ प्रतिवेदनले दक्षिण एसियाको जनसांख्यिकीय परिवर्तनलाई आर्थिक विकासको आगामी चरणसँग जोडेर विश्लेषण गरेको छ।
प्रतिवेदनले कामकाजी उमेरको जनसंख्याबाट प्राप्त हुने लाभांश घट्दै गएको र यस क्षेत्रका देशले अब रोजगारी सिर्जना, उत्पादकत्व वृद्धि, मानव पुँजी विकास तथा वृद्धावस्थाको सामाजिक सुरक्षामा एकैसाथ लगानी गर्नुपर्ने निष्कर्ष निकालेको छ।
सन् २००० यता काम गर्ने उमेरका वयस्कको हिस्सा बढ्दा दक्षिण एसियाको कुल गार्हस्थ उत्पादन वृद्धिमा वार्षिक ०.४ प्रतिशत बिन्दुको योगदान पुगेको र श्रम उत्पादकत्वमा वार्षिक १.१ प्रतिशत वृद्धि भएको विश्व बैंकको अध्ययनले देखाएको छ।
तर सन् २०५० सम्ममा जनसांख्यिकीय परिवर्तनबाट प्राप्त हुने वार्षिक आर्थिक वृद्धिको योगदान घटेर ०.१ प्रतिशतमा सीमित हुने अनुमान छ।
यसको अर्थ आगामी दिनमा अर्थतन्त्रको वृद्धि जनसंख्याको आकारभन्दा बढी श्रमिकको सीप, प्रविधि, पुँजी, उत्पादन क्षमता र रोजगारीको गुणस्तरमा निर्भर हुनेछ।
नेपालका लागि यो परिवर्तन अझ महत्वपूर्ण छ। दक्षिण एसियाका धेरै देशको तुलनामा नेपालको कामकाजी उमेरको जनसंख्या उच्च विन्दुमा पुग्न केही समय बाँकी छ।
विश्व बैंकको अनुमानअनुसार नेपालको कामकाजी उमेरको जनसंख्याको हिस्सा सन् २०४७ मा उच्च विन्दुमा पुग्नेछ भने सन् २०५९ सम्ममा नेपाल वृद्ध समाजको अवस्थामा प्रवेश गर्नेछ।
यसले नेपाललाई तयारीका लागि करिब दुई दशकको अवसर दिएको छ। तर पर्याप्त रोजगारी सिर्जना, स्वदेशी उत्पादन विस्तार र सामाजिक सुरक्षाको आधार बलियो बनाउन नसके यो अवसर आर्थिक समृद्धिको आधार बन्नुको सट्टा भविष्यको ठूलो दायित्वमा परिणत हुन सक्छ।
जनसांख्यिकीय लाभांशको समय
जनसांख्यिकीय लाभांश भन्नाले कुल जनसंख्यामा काम गर्ने उमेरका मानिसको हिस्सा बालबालिका तथा ज्येष्ठ नागरिकको तुलनामा बढ्दा अर्थतन्त्रले प्राप्त गर्न सक्ने सम्भावित लाभलाई बुझिन्छ।
यस्तो अवस्थामा देशसँग उत्पादन, सेवा, उद्यमशीलता र आर्थिक गतिविधिमा सहभागी हुन सक्ने जनशक्तिको ठूलो आधार हुन्छ। पर्याप्त रोजगारी, शिक्षा, स्वास्थ्य, सीप र लगानीको वातावरण उपलब्ध भएमा यसले राष्ट्रिय उत्पादन, बचत, उपभोग र पुँजी निर्माणलाई गति दिन सक्छ।
तर काम गर्ने उमेरका मानिस धेरै हुनु र उनीहरू उत्पादनशील आर्थिक गतिविधिमा सहभागी हुनु फरक विषय हो।
जनसंख्याको ठूलो हिस्सा रोजगारीविहीन, न्यून आम्दानीको काममा सीमित वा श्रम बजारबाट बाहिर छ भने जनसांख्यिकीय लाभांश स्वतः प्राप्त हुँदैन। यही समस्या दक्षिण एसियाको अर्थतन्त्रमा देखिन थालेको छ।
विश्व बैंकका अनुसार दक्षिण एसियामा काम गर्ने उमेरका मानिसमध्ये ६० प्रतिशत मात्र रोजगारीमा छन्।
रोजगारीमा रहेका मानिसमध्ये ८८ प्रतिशत अनौपचारिक क्षेत्रमा कार्यरत छन्। अनौपचारिक रोजगारीमा आम्दानीको स्थायित्व, श्रमिक अधिकार, सामाजिक सुरक्षा र सीप विकासका अवसर सीमित हुन्छन्। यसले ठूलो श्रमशक्ति हुँदाहुँदै पनि त्यसको पूर्ण आर्थिक उपयोग हुन नसकेको देखाउँछ।
जनसांख्यिकीय परिवर्तनको गति पनि दक्षिण एसियामा तुलनात्मक रूपमा तीव्र छ।
विश्व बैंकका अनुसार वृद्ध हुँदै गएको समाजबाट वृद्ध समाजमा रूपान्तरण हुन दक्षिण एसियालाई औसत २५ वर्ष लाग्नेछ। अन्य उदीयमान तथा विकासशील अर्थतन्त्रमा यही संक्रमणका लागि औसत ३२ वर्ष र विकसित अर्थतन्त्रमा ४६ वर्ष लागेको देखिन्छ।
अर्थात् दक्षिण एसियाले कम समयभित्रै वृद्ध जनसंख्याले सिर्जना गर्ने आर्थिक तथा सामाजिक दायित्व सामना गर्नुपर्नेछ।
यो परिवर्तनको अर्को महत्वपूर्ण पक्ष आम्दानीको स्तर हो। विकसित देशहरूले उच्च प्रतिव्यक्ति आय, विकसित औद्योगिक आधार र विस्तारित सामाजिक सुरक्षा प्रणाली निर्माण गरेपछि वृद्ध समाजको चुनौती सामना गरेका थिए।
दक्षिण एसियाका धेरै देश भने तुलनात्मक रूपमा न्यून आयमै वृद्ध समाजतर्फ अघि बढिरहेका छन्। पर्याप्त बचत, पेन्सन, स्वास्थ्य बीमा र दीर्घकालीन हेरचाहको व्यवस्था विकास हुनुअघि नै वृद्ध जनसंख्याको अनुपात बढ्नु अर्थतन्त्रका लागि थप चुनौती हो।
विश्व बैंकले यसलाई ‘धनी हुनुअघि नै वृद्ध हुने जोखिम’ का रूपमा व्याख्या गरेको छ। यसले दक्षिण एसियाली देशलाई दुईवटा काम एकैपटक गर्नुपर्ने अवस्थामा पुर्याएको छ।
पहिलो, बाँकी रहेको जनसांख्यिकीय अवसर उपयोग गर्दै उत्पादनशील रोजगारी सिर्जना गर्नु। दोस्रो, भविष्यमा बढ्ने वृद्ध जनसंख्याको स्वास्थ्य, आम्दानी र सामाजिक सुरक्षाका लागि संस्थागत तथा वित्तीय तयारी गर्नु।
नेपालको सन्दर्भमा सन् २०४७ सम्म कामकाजी उमेरको जनसंख्याको हिस्सा बढ्ने अनुमान छ।
तर त्यस अवधिसम्मको आर्थिक लाभ लिन श्रमशक्तिको उत्पादकत्व बढाउनुपर्नेछ। जनसंख्या संरचनाले दिएको अवसरलाई उपयोग गर्ने समय सीमित भएकाले अबको आर्थिक नीति जनशक्तिलाई उत्पादनसँग जोड्ने दिशामा केन्द्रित हुनुपर्ने देखिन्छ।
रोजगारीभन्दा ठूलो श्रम बजारको समस्या
दक्षिण एसियाको जनसांख्यिकीय लाभांश कमजोर हुनुको प्रमुख कारण रोजगारी सिर्जना गर्ने क्षमतामा देखिएको कमजोरी हो। काम गर्ने उमेरका मानिसको संख्या बढे पनि अर्थतन्त्रले उनीहरूलाई पर्याप्त र गुणस्तरीय काम उपलब्ध गराउन सकेको छैन।
रोजगारीमा रहेका धेरै मानिस अनौपचारिक, न्यून आम्दानी र कम उत्पादकत्व भएका क्षेत्रमा सीमित छन्।
विश्व बैंकको प्रतिवेदनअनुसार दक्षिण एसियाका औपचारिक व्यवसायले अन्य उदीयमान तथा विकासशील अर्थतन्त्रका तुलनामा करिब आधा गतिमा मात्र रोजगारी सिर्जना गरिरहेका छन्।
कमजोर पूर्वाधार, जटिल व्यावसायिक नियमन, नवप्रवर्तनमा सीमितता र श्रमिकको सीप विकासमा अपर्याप्त लगानीले व्यवसाय विस्तारलाई अवरुद्ध गरेको छ।
औपचारिक व्यवसाय विस्तार हुन नसक्दा नयाँ श्रमशक्तिलाई गुणस्तरीय रोजगारी उपलब्ध गराउन कठिन भएको छ।
नेपालमा यो समस्या अझ स्पष्ट देखिन्छ।
अर्थ मन्त्रालय र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको प्राविधिक सहयोगमा तयार गरिएको ‘रोजगारमुखी आर्थिक वृद्धिका लागि एकीकृत राष्ट्रिय वित्तीय रणनीति’ ले नेपालको श्रम बजारमा बेरोजगारी र श्रमको न्यून उपयोग दुवै उच्च रहेको उल्लेख गरेको छ।
राष्ट्रिय जीवनस्तर सर्वेक्षण चौथोका आधारमा तयार गरिएको उक्त दस्तावेजअनुसार आर्थिक वर्ष २०२२/२३ मा १५ वर्ष वा सोभन्दा माथिको जनसंख्यामा बेरोजगारी दर १२.६ प्रतिशत थियो।
१५ देखि २४ वर्ष उमेर समूहको बेरोजगारी दर २२.७ प्रतिशत रहेको थियो। सोही अवधिमा श्रमशक्ति सहभागिता दर ३७.१ प्रतिशत मात्र थियो। काम गर्ने उमेरका जनसंख्यामध्ये ३२.४ प्रतिशत मात्र रोजगारीमा रहेको र ६२.९ प्रतिशत श्रमशक्तिबाहिर रहेको दस्तावेजमा उल्लेख छ।
यी तथ्यांकले नेपालको श्रम बजारमा देखिएको समस्या बेरोजगारीमा मात्र सीमित नरहेको देखाउँछन्।
काम गर्न सक्ने उमेरका ठूलो संख्याका मानिस श्रम बजारमै सहभागी छैनन्। महिला, युवा, निरुत्साहित रोजगार खोज्ने व्यक्ति तथा अनौपचारिक आर्थिक गतिविधिमा आबद्ध जनशक्तिको ठूलो हिस्सा औपचारिक श्रम बजारबाट बाहिर रहेको छ।
तथ्यांकको व्याख्या गर्दा सर्वेक्षणको विधिगत पक्ष पनि महत्वपूर्ण हुन्छ।
राष्ट्रिय जीवनस्तर सर्वेक्षणले निर्वाहमुखी कृषि गतिविधिमा संलग्न केही व्यक्तिलाई श्रमशक्तिबाहिर गणना गर्ने पद्धति अपनाएको छ। त्यसैले यसको श्रम सहभागिता दरलाई अन्य श्रम सर्वेक्षण वा अन्तर्राष्ट्रिय श्रम संगठनको अनुमानसँग सीधा तुलना गर्न मिल्दैन।
तर यसले श्रमशक्तिको ठूलो हिस्सा नियमित तथा मापनयोग्य रोजगारीमा आबद्ध हुन नसकेको संरचनात्मक समस्या भने देखाउँछ।
अन्तर्राष्ट्रिय मुद्रा कोषको सन् २०२६ को नेपालसम्बन्धी अध्ययनले पनि कामकाजी उमेरको जनसंख्या कुल जनसंख्याको करिब दुईतिहाइ रहे पनि त्यसलाई उत्पादनशील गतिविधिमा उपयोग गर्न नसकिएको उल्लेख गरेको छ।
अध्ययनअनुसार रोजगारी, शिक्षा वा तालिममा सहभागी नभएका युवाको अनुपात ३० प्रतिशतभन्दा माथि छ। युवा बेरोजगारी उच्च छ र शिक्षित युवासमेत न्यून उत्पादकत्व भएका अनौपचारिक काममा केन्द्रित छन्।
यसको प्रत्यक्ष असर अर्थतन्त्रको उत्पादन क्षमतामा पर्छ।
श्रमशक्तिको ठूलो हिस्सा उत्पादनमूलक गतिविधिमा सहभागी नहुँदा राष्ट्रिय आय विस्तारको अवसर गुम्छ। बेरोजगार वा न्यून आम्दानीमा काम गर्ने युवाको उपभोग क्षमता कमजोर हुन्छ। यसले घरेलु बजारको विस्तार, बचत र लगानीमा समेत असर पुर्याउँछ।
नेपालमा उद्योग तथा व्यवसायले आवश्यक दक्ष जनशक्ति पाउन नसक्ने र अर्कोतर्फ शिक्षित युवाले आफ्नो योग्यताअनुसारको रोजगारी नपाउने विरोधाभास देखिन्छ।
शिक्षा प्रणाली, व्यावसायिक तालिम र उद्योगको आवश्यकताबीच समन्वय नहुँदा श्रम बजारमा सीपको माग र आपूर्तिबीच अन्तर कायम छ। यस्तो अवस्थामा जनसंख्याको आकार बढ्नु मात्र आर्थिक लाभको आधार बन्न सक्दैन।
विप्रेषणमा निर्भर अर्थतन्त्र
नेपालको जनसांख्यिकीय लाभांश उपयोगमा वैदेशिक रोजगारी सबैभन्दा ठूलो विरोधाभासका रूपमा देखिएको छ।
देशभित्र रोजगारीका अवसर सीमित हुँदा काम गर्ने उमेरका लाखौँ नेपाली विदेशमा श्रम बेच्न बाध्य छन्।
उनीहरूले पठाएको रकमले परिवारको उपभोग, शिक्षा, स्वास्थ्य, आवास र ऋण भुक्तानीमा योगदान पुर्याएको छ। यसले गरिबी न्यूनीकरणदेखि विदेशी मुद्रा सञ्चितिसम्म अर्थतन्त्रलाई महत्वपूर्ण सहयोग गरेको छ।
विश्व बैंकको नेपालसम्बन्धी अध्ययनअनुसार विप्रेषण नेपालको कुल गार्हस्थ उत्पादनको करिब एकचौथाइ बराबर छ।
सन् २००१ देखि २०११ सम्मको अवधिमा गरिबी न्यूनीकरणमा विप्रेषणको योगदान करिब ४० प्रतिशत रहेको नयाँ प्रतिवेदनले उल्लेख गरेको छ।
वैदेशिक रोजगारीबाट प्राप्त आम्दानीले ग्रामीण अर्थतन्त्रमा नगद प्रवाह बढाएको, परिवारको उपभोग क्षमता विस्तार गरेको र शिक्षा तथा स्वास्थ्य सेवामा पहुँच सुधार गरेको छ।
तर विप्रेषणमा आधारित आर्थिक विस्तार र उत्पादनमा आधारित आर्थिक विस्तारबीच ठूलो अन्तर छ।
विप्रेषणले घरपरिवारको आम्दानी बढाए पनि त्यसबाट स्वदेशमा उद्योग, कृषि प्रशोधन, प्रविधि र निर्यातमूलक व्यवसाय विस्तार हुन सकेन भने दीर्घकालीन उत्पादन क्षमता निर्माण हुँदैन।
नेपालको आयात संरचनामा उपभोग्य वस्तुको उच्च हिस्सा, सीमित निर्यात क्षमता र उत्पादनमूलक उद्योगको कमजोर विस्तारले यही चुनौती देखाउँछ।
विदेशबाट प्राप्त आम्दानीले उपभोग बढाउँछ, तर घरेलु उत्पादन विस्तार नभए बढेको मागको ठूलो हिस्सा आयातबाट पूरा हुन्छ। यसले विप्रेषणको केही हिस्सा पुनः विदेशी बजारतर्फ प्रवाहित हुने अवस्था सिर्जना गर्छ।
अर्थ मन्त्रालयको रोजगारमुखी आर्थिक वृद्धिका लागि तयार गरिएको वित्तीय रणनीतिले नेपालको पछिल्लो आर्थिक वृद्धिमा विप्रेषणमा आधारित उपभोग र आयातमुखी मागको प्रभाव बढी रहेको उल्लेख गरेको छ।
दस्तावेजअनुसार विप्रेषणको ठूलो हिस्सा घरायसी आवश्यकता र आयातित वस्तुको उपभोगमा खर्च हुने गरेको छ। घरेलु व्यवसाय विस्तार र पुँजी निर्माणमा यसको उपयोग सीमित छ।
यसले नेपाललाई वैदेशिक रोजगारी र बाह्य आम्दानीमा निर्भर अर्थतन्त्र बनाउने जोखिम बढाएको छ।
श्रमिक विदेशमा जाने, उनीहरूले पठाएको रकमबाट परिवारले उपभोग गर्ने र त्यो मागको ठूलो हिस्सा आयातबाट पूरा हुने चक्रले स्वदेशी उत्पादन तथा रोजगारी सिर्जनालाई अपेक्षित गति दिन सकेको छैन।
यसको अर्थ विप्रेषण आर्थिक विकासका लागि अनुपयोगी छ भन्ने होइन। बरु यसको उपयोग गर्ने नीतिगत संरचना कमजोर छ।
विप्रेषण प्राप्त गर्ने परिवारलाई बचत तथा लगानीका साधन उपलब्ध गराउने, विदेशबाट फर्किएका श्रमिकलाई व्यवसाय सञ्चालनका लागि वित्तीय पहुँच दिने र उत्पादनमूलक क्षेत्रमा लगानीको प्रतिफल सुनिश्चित गर्ने वातावरण आवश्यक छ।
साना तथा मझौला उद्यमलाई सहज ऋण, बजार पहुँच, प्रविधि र व्यवसाय सञ्चालनसम्बन्धी परामर्श उपलब्ध गराउन सके विप्रेषणको केही हिस्सा उत्पादनशील पुँजीमा रूपान्तरण हुन सक्छ।
विदेशमा आर्जित पुँजी र सीपलाई स्वदेशी उद्यमसँग जोड्न सके वैदेशिक रोजगारीबाट प्राप्त लाभ दीर्घकालीन आर्थिक वृद्धिको आधार बन्न सक्छ।
विदेशबाट फर्किएको सीपको कमजोर प्रतिफल
वैदेशिक रोजगारीबाट फर्किएका श्रमिकलाई स्वदेशी अर्थतन्त्रमा समेट्नु नेपालको जनसांख्यिकीय लाभांश उपयोग गर्ने अर्को महत्वपूर्ण पक्ष हो।
विदेशमा निर्माण, उत्पादन, सेवा, प्राविधिक काम र व्यवस्थापनका क्षेत्रमा अनुभव हासिल गरेका श्रमिकसँग सीप, कार्यअनुभव र केही पुँजी हुन्छ। तर उनीहरू स्वदेश फर्किएपछि त्यसलाई उपयोग गर्ने अवसर सीमित देखिन्छ।
विश्व बैंकको नयाँ प्रतिवेदनले विदेशबाट फर्किएका नेपाली श्रमिकले स्वदेश फर्किएपछि करिब तीन वर्षसम्म गैरप्रवासी श्रमिकको तुलनामा कम पारिश्रमिक पाउने गरेको उल्लेख गरेको छ।
यसले विदेशमा हासिल गरेको अनुभव र सीपलाई स्वदेशी श्रम बजारले अपेक्षित मूल्य दिन नसकेको संकेत गर्छ।
यो समस्या श्रमिकको व्यक्तिगत क्षमतासँग मात्र सम्बन्धित छैन। स्वदेशी उद्योगको संरचना, प्रविधिको स्तर, कामको प्रकृति र श्रमिकको सीपबीच मेल नहुँदा विदेशमा सिकेको सीपको उपयोग कठिन हुन्छ।
विदेशमा आधुनिक उपकरण र प्रक्रियामा काम गरेको श्रमिकले स्वदेशमा त्यस्तै प्रविधि र कार्यवातावरण नपाउन सक्छ। कतिपय अवस्थामा विदेशमा हासिल गरेको अनुभवलाई औपचारिक रूपमा प्रमाणीकरण गर्ने प्रणाली पनि कमजोर छ।
विश्व बैंकले वैदेशिक रोजगारीबाट फर्किएका श्रमिकका लागि व्यावसायिक तालिमलाई रोजगार सेवा र जीवनोपयोगी सीपसँग जोड्नुपर्ने सुझाव दिएको छ। यसको उद्देश्य तालिमको प्रमाणपत्र वितरण गर्नु मात्र नभई श्रमिकलाई वास्तविक रोजगारी र आम्दानीसँग जोड्नु हो।
नेपालमा श्रमिकको सीप पहिचान, प्रमाणीकरण र उद्योगको आवश्यकतासँग मिलान गर्ने प्रणाली विस्तार गर्नु आवश्यक छ।
विदेशमा हासिल गरेको अनुभवलाई मान्यता दिने व्यवस्था, उद्योगसँग साझेदारीमा तालिम, उद्यमशीलता विकास र वित्तीय पहुँच विस्तार गर्न सके फर्किएका श्रमिकलाई नयाँ आर्थिक अवसर उपलब्ध गराउन सकिन्छ।
यसका लागि वैदेशिक रोजगारबाट फर्किएका श्रमिकको विवरण, सीप, अनुभव, लगानी क्षमता र रोजगारीको रुचिसम्बन्धी व्यवस्थित तथ्यांक आवश्यक हुन्छ।
यस्तो विवरणलाई स्थानीय तह, उद्योग, रोजगार सेवा केन्द्र र वित्तीय संस्थासँग जोड्न सके श्रमिकको पुनःएकीकरण प्रभावकारी हुन सक्छ।
वैदेशिक रोजगारीलाई केवल श्रम निर्यातको माध्यमका रूपमा हेर्ने पुरानो दृष्टिकोण परिवर्तन गर्नुपर्ने देखिन्छ।
विदेश जाने, सीप हासिल गर्ने, पुँजी जम्मा गर्ने र स्वदेश फर्किएपछि उत्पादनमूलक क्षेत्रमा काम गर्ने वा व्यवसाय स्थापना गर्ने चक्र निर्माण गर्न सके वैदेशिक रोजगारी जनसांख्यिकीय लाभांशको सहयोगी माध्यम बन्न सक्छ।
महिलाको सहभागितामा ठूलो अन्तर
दक्षिण एसियाको जनसांख्यिकीय लाभांश उपयोगमा महिलाको श्रम सहभागिता प्रमुख चुनौतीका रूपमा रहेको छ।
काम गर्ने उमेरका महिलाको ठूलो हिस्सा पारिश्रमिक प्राप्त गर्ने रोजगारीमा सहभागी छैन।
घरायसी काम, बालबालिकाको हेरचाह, ज्येष्ठ नागरिकको सेवा र पारिवारिक जिम्मेवारीमा महिलाको श्रम खर्च भए पनि त्यसको ठूलो हिस्सा राष्ट्रिय उत्पादन र औपचारिक श्रम बजारको तथ्यांकमा समेटिँदैन।
नेपालको वित्त मन्त्रालय र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको वित्तीय रणनीतिअनुसार आर्थिक वर्ष २०२२/२३ मा काम गर्ने उमेरका महिलाको श्रमशक्ति सहभागिता २४.६ प्रतिशत मात्र थियो।
पुरुषको सहभागिता ५२.७ प्रतिशत थियो। यसले महिला र पुरुषबीचको श्रम बजार सहभागितामा ठूलो अन्तर रहेको देखाउँछ।
विश्व बैंकको नयाँ प्रतिवेदनअनुसार नेपालमा महिलाले पुरुषको तुलनामा सातामा औसत नौ घण्टा कम काम गर्ने गरेका छन्। यो तथ्यलाई पारिश्रमिक प्राप्त गर्ने रोजगारीमा सहभागितासँगै घरायसी तथा हेरचाहसम्बन्धी जिम्मेवारीको वितरणसँग जोडेर हेर्नुपर्ने हुन्छ।
महिलाको श्रम सहभागिता कमजोर हुनुको आर्थिक लागत ठूलो छ।
काम गर्न इच्छुक र सक्षम महिलाले अवसर नपाउँदा अर्थतन्त्रले उपलब्ध जनशक्तिको पूर्ण उपयोग गर्न सक्दैन। परिवारको आम्दानी सीमित हुन्छ, बचत र लगानी क्षमता कमजोर हुन्छ र महिला उद्यमशीलताको विस्तार अवरुद्ध हुन्छ।
महिलाको आर्थिक सहभागिता बढाउन सुरक्षित कार्यस्थल, बालहेरचाह सेवा, समान पारिश्रमिक, व्यावसायिक तालिम, वित्तीय पहुँच र उद्यमशीलताका अवसर विस्तार गर्नुपर्ने हुन्छ।
ग्रामीण क्षेत्रमा कृषि तथा गैरकृषि उद्यम, पर्यटन, डिजिटल सेवा र घरेलु उद्योगमा महिलाको सहभागिता बढाउन सके स्थानीय अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पर्न सक्छ।
यसैगरी किशोरावस्थाको उच्च प्रजनन दरले बालिकाको शिक्षा र भविष्यको रोजगारीमा असर पार्ने विश्व बैंकको प्रतिवेदनले औंल्याएको छ।
शिक्षा, स्वास्थ्य र प्रजनन स्वास्थ्य सेवामा पहुँच विस्तार गर्न सके आगामी पुस्ताको मानव पुँजी निर्माणमा सुधार ल्याउन सकिन्छ।
विश्व बैंकले दक्षिण एसियामा शिक्षा, स्वास्थ्य, पोषण र महिलाको श्रम सहभागितामा सामान्य सुधार मात्र गर्न सके पनि सन् २०५० सम्ममा प्रतिव्यक्ति वास्तविक कुल गार्हस्थ उत्पादनमा ४ देखि १० प्रतिशतसम्म वृद्धि सम्भव हुने अनुमान गरेको छ।
यो अनुमानले महिला सहभागिता र मानव पुँजीमा लगानीलाई सामाजिक कार्यक्रम मात्र नभई आर्थिक वृद्धिको महत्वपूर्ण आधारका रूपमा लिनुपर्ने देखाउँछ।
वृद्ध जनसंख्या र सामाजिक सुरक्षाको दबाब
जनसांख्यिकीय संरचना परिवर्तन हुँदै जाँदा दक्षिण एसियाली अर्थतन्त्रले सामना गर्नुपर्ने अर्को ठूलो चुनौती वृद्ध जनसंख्याको आर्थिक सुरक्षा हो।
काम गर्ने उमेरका मानिसको हिस्सा घट्दै जाँदा ज्येष्ठ नागरिकको अनुपात बढ्छ। यसले स्वास्थ्य सेवा, निवृत्तिभरण, सामाजिक सहायता र दीर्घकालीन हेरचाहमा सार्वजनिक तथा निजी खर्च बढाउँछ।
विश्व बैंकका अनुसार दक्षिण एसियामा काम गर्ने उमेरका जनसंख्यामध्ये १७ प्रतिशत मात्र योगदानमा आधारित निवृत्तिभरण योजनामा आबद्ध छन्। वृद्ध नागरिकमध्ये १० प्रतिशतले मात्र कुनै प्रकारको निवृत्तिभरण सुविधा प्राप्त गर्छन्।
यो विश्वका क्षेत्रमध्ये सबैभन्दा न्यून सामाजिक सुरक्षा पहुँचमध्ये एक हो।
नेपालमा पनि वृद्धावस्थाको आर्थिक सुरक्षा कमजोर छ। विश्व बैंकको प्रतिवेदनअनुसार ६५ वर्ष वा सोभन्दा माथिका श्रमिकमध्ये ९१ प्रतिशत अनौपचारिक क्षेत्रमा कार्यरत छन्।
उनीहरूमध्ये ठूलो हिस्सा नियमित निवृत्तिभरण प्रणालीको दायराबाहिर छ। कृषि, स्वरोजगार, साना व्यापार र अनौपचारिक सेवामा जीवनभर काम गरेका ज्येष्ठ नागरिकसँग नियमित आम्दानीको सुनिश्चितता छैन।
यसले भविष्यमा परिवार र राज्य दुवैमाथि आर्थिक दायित्व बढाउन सक्छ।
अहिलेको युवा जनशक्ति विदेशिने र स्वदेशमा औपचारिक रोजगारीको आधार कमजोर रहने हो भने भविष्यमा योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीमा सहभागी हुने श्रमिकको संख्या अपेक्षित रूपमा बढ्न सक्दैन।
नेपालले सन् २०१८ मा स्थापना गरेको सामाजिक सुरक्षा कोषमार्फत योगदानमा आधारित सामाजिक बिमा प्रणाली सञ्चालन गर्दै आएको छ।
औपचारिक क्षेत्रका श्रमिक र रोजगारदाताको योगदानबाट सञ्चालित यो प्रणालीलाई अनौपचारिक क्षेत्र र स्वरोजगारमा आबद्ध व्यक्तिसम्म विस्तार गर्ने प्रयास पनि अघि बढाइएको छ।
अनौपचारिक क्षेत्रका श्रमिकलाई समेट्ने व्यवस्थामा कुल ३१ प्रतिशत योगदानको संरचनाभित्र श्रमिकको योगदानसँगै सरकारले नौ प्रतिशत योगदान गर्ने व्यवस्था रहेको विश्व बैंकको प्रतिवेदनमा उल्लेख छ।
यस्तो प्रणाली प्रभावकारी रूपमा विस्तार गर्न सके अनौपचारिक श्रमिक, स्वरोजगारमा आबद्ध व्यक्ति र वैदेशिक रोजगारीबाट फर्किएका नागरिकलाई पनि वृद्धावस्थाको आर्थिक सुरक्षामा समेट्न सकिन्छ।
नेपाल सरकारले ७० वर्ष वा सोभन्दा माथिका नागरिक तथा दलित र कर्णाली क्षेत्रका ६० वर्ष नाघेका नागरिकलाई मासिक चार हजार रुपैयाँ ज्येष्ठ नागरिक भत्ता उपलब्ध गराउँदै आएको छ। यो गैरयोगदानमा आधारित सामाजिक सुरक्षाको महत्वपूर्ण आधार हो।
तर वृद्ध जनसंख्या बढ्दै जाँदा यस्तो भत्ताको वित्तीय दायित्व पनि विस्तार हुनेछ। त्यसैले योगदानमा आधारित सामाजिक बिमा र राज्यले उपलब्ध गराउने सामाजिक सहायताबीच सन्तुलन कायम गर्नुपर्ने हुन्छ।
वृद्धावस्थाको सुरक्षा केवल पेन्सनमा सीमित हुँदैन।
स्वास्थ्य सेवा, दीर्घकालीन हेरचाह, औषधि उपचार, सामाजिक सहभागिता र आयआर्जनका अवसर पनि उत्तिकै महत्वपूर्ण हुन्छन्। विश्व बैंकले दक्षिण एसियामा जीवन प्रत्याशा बढे पनि स्वस्थ जीवनका वर्ष समान गतिमा नबढेको उल्लेख गरेको छ।
सन् २०२३ मा दक्षिण एसियामा जन्मिएको औसत शिशुको जीवन प्रत्याशा ७२ वर्ष भए पनि स्वस्थ जीवन प्रत्याशा करिब ६१ वर्ष मात्र थियो। नसर्ने रोगले यस क्षेत्रको कुल रोगभारको करिब दुईतिहाइ हिस्सा ओगटेको प्रतिवेदनमा उल्लेख छ।
यसले वृद्ध जनसंख्या बढ्दै जाँदा स्वास्थ्य प्रणालीमाथि थप दबाब पर्ने देखाउँछ।
नेपालमा चिकित्सकको करिब ६० प्रतिशत हिस्सा सहरी क्षेत्रमा केन्द्रित छ। स्वास्थ्य संस्थामा नसर्ने रोगको उपचार तथा व्यवस्थापनसम्बन्धी सेवा उपलब्धता २८.४ प्रतिशत मात्र रहेको विश्व बैंकको प्रतिवेदनले देखाएको छ।
ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवा कमजोर रहँदा वृद्ध जनसंख्याको स्वास्थ्य सुरक्षा थप जटिल बन्न सक्छ।
त्यसैले स्वास्थ्य पूर्वाधार, प्राथमिक उपचार, नसर्ने रोगको पहिचान तथा व्यवस्थापन र दीर्घकालीन हेरचाहमा अहिले नै लगानी बढाउनुपर्ने आवश्यकता छ।
वृद्ध नागरिकलाई आर्थिक दायित्वका रूपमा मात्र नभई अनुभव, ज्ञान र सीप भएका सम्भावित आर्थिक योगदानकर्ताका रूपमा हेर्ने नीति पनि आवश्यक हुन्छ।
आर्थिक रूपान्तरणको निर्णायक समय
नेपालको जनसांख्यिकीय अवसरलाई आर्थिक समृद्धिमा रूपान्तरण गर्न अबको दुई दशक निर्णायक हुनेछन्।
विश्व बैंकको अनुमानअनुसार नेपालको कामकाजी उमेरको जनसंख्याको हिस्सा सन् २०४७ मा उच्च विन्दुमा पुग्नेछ। त्यसपछि वृद्ध जनसंख्याको अनुपात बढ्दै जानेछ र सन् २०५९ सम्ममा नेपाल वृद्ध समाजको अवस्थामा प्रवेश गर्नेछ।
यसबीच नेपालले उत्पादनशील रोजगारी, औद्योगिक विस्तार, सीप विकास, महिला सहभागिता र सामाजिक सुरक्षामा उल्लेखनीय सुधार गर्न सके जनसांख्यिकीय लाभांशलाई दीर्घकालीन आर्थिक वृद्धिमा रूपान्तरण गर्न सक्छ।
अन्यथा युवा जनशक्ति विदेशिने, स्वदेशमा न्यून उत्पादकत्व कायम रहने र वृद्धावस्थाको सुरक्षा दायित्व बढ्ने दोहोरो दबाब सिर्जना हुनेछ।
अर्थ मन्त्रालयले संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको प्राविधिक सहयोगमा तयार गरेको रोजगारमुखी आर्थिक वृद्धिका लागि एकीकृत राष्ट्रिय वित्तीय रणनीतिले रोजगारी सिर्जनालाई सार्वजनिक बजेट, निजी पुँजी र विकास वित्तको केन्द्रमा राख्नुपर्ने उल्लेख गरेको छ।
रणनीतिमा सार्वजनिक तथा निजी लगानी, वित्तीय पहुँच, साना तथा मझौला उद्यमको विस्तार, सीप विकास र श्रम बजार रूपान्तरणलाई एकीकृत प्राथमिकताका रूपमा प्रस्तुत गरिएको छ।
यसले नेपालको आर्थिक नीतिमा एउटा महत्वपूर्ण परिवर्तन आवश्यक रहेको देखाउँछ।
आर्थिक वृद्धिको दरलाई मात्र सफलता मापन गर्ने आधार बनाउनु पर्याप्त हुँदैन। कति रोजगारी सिर्जना भयो, ती रोजगारी कति उत्पादनशील छन्, श्रमिकको आम्दानी कति बढ्यो र स्वदेशी उत्पादनमा कति योगदान पुग्यो भन्ने विषय पनि आर्थिक नीतिको मूल्यांकनमा समेटिनुपर्छ।
पहिलो प्राथमिकता निजी क्षेत्रबाट उत्पादनशील रोजगारी सिर्जना गर्नु हो।
कृषि प्रशोधन, पर्यटन, जलविद्युत्, सूचना प्रविधि, निर्माण सामग्री, औषधि उत्पादन र निर्यातमुखी सेवामा लगानी विस्तार गर्न सके युवाका लागि स्वदेशमै रोजगारीका अवसर बढाउन सकिन्छ।
यसका लागि उद्योग स्थापना र सञ्चालनको प्रक्रिया सहज बनाउने, पूर्वाधारको गुणस्तर सुधार्ने, वित्तीय पहुँच बढाउने र नीतिगत स्थिरता कायम गर्ने आवश्यकता छ।
दोस्रो प्राथमिकता शिक्षा र सीपलाई श्रम बजारको मागसँग जोड्नु हो। विद्यालय तथा विश्वविद्यालयको पाठ्यक्रम, प्राविधिक शिक्षा र उद्योगको आवश्यकता एकअर्कासँग मेल खाने व्यवस्था विकास गर्नुपर्छ।
केवल प्रमाणपत्र वितरण गर्ने तालिमभन्दा रोजगारी प्राप्ति, आय वृद्धि र उद्यम स्थापना मापन गर्ने सीप विकास प्रणाली प्रभावकारी हुन्छ।
तेस्रो प्राथमिकता वैदेशिक रोजगारीबाट प्राप्त पुँजी र सीपको उपयोग गर्नु हो।
विदेशबाट फर्किएका श्रमिकलाई व्यवसाय स्थापना गर्न सहुलियतपूर्ण वित्तीय पहुँच, बजारको जानकारी, प्राविधिक सहयोग र सीप प्रमाणीकरण उपलब्ध गराउन सके उनीहरू स्वदेशी उत्पादन र रोजगारी सिर्जनाका साझेदार बन्न सक्छन्।
चौथो प्राथमिकता महिलाको आर्थिक सहभागिता विस्तार गर्नु हो। बालहेरचाह सेवा, सुरक्षित कार्यस्थल, समान अवसर र उद्यमशीलतामा वित्तीय पहुँच बढाउन सके अर्थतन्त्रमा उपलब्ध जनशक्तिको उपयोग विस्तार हुनेछ।
पाँचौँ प्राथमिकता सामाजिक सुरक्षा प्रणालीलाई दीर्घकालीन वित्तीय आधारमा विस्तार गर्नु हो।
अनौपचारिक श्रमिक, स्वरोजगारमा आबद्ध व्यक्ति र वैदेशिक रोजगारीबाट फर्किएका नागरिकलाई योगदानमा आधारित सामाजिक सुरक्षामा समेट्न सके भविष्यको वृद्धावस्थाको जोखिम व्यवस्थापन गर्न सहज हुनेछ।
विश्व बैंकको प्रतिवेदनले दक्षिण एसियालाई केवल वृद्ध जनसंख्याको चुनौतीका रूपमा मात्र हेरेको छैन।
स्वस्थ र सीपयुक्त ज्येष्ठ नागरिकलाई आर्थिक गतिविधिमा निरन्तर सहभागी गराएर दोस्रो जनसांख्यिकीय लाभांश प्राप्त गर्ने सम्भावना पनि औंल्याएको छ। यसका लागि जीवनभर सीप विकास, स्वास्थ्य सेवा, लचिलो श्रम बजार र वित्तीय सुरक्षाको व्यवस्था आवश्यक हुन्छ।
नेपालसँग अझै समय छ। तर समय उपलब्ध हुनु र अवसर उपयोग हुनु फरक विषय हुन्।
जनसांख्यिकीय संरचनाले दिएको अनुकूल अवस्थालाई आर्थिक वृद्धिको स्थायी आधार बनाउन सरकारले नीति, निजी क्षेत्रले लगानी र श्रम बजारले उत्पादनशील अवसर सिर्जना गर्नुपर्नेछ।
दक्षिण एसियाको युवा जनशक्ति अब केवल जनसंख्याको तथ्यांक होइन, आर्थिक भविष्यको निर्णायक स्रोत हो।
यसको उपयोग गर्न नसके जनसांख्यिकीय लाभांशको अवसर क्रमशः कमजोर हुँदै जानेछ।
नेपालले आगामी दुई दशकलाई उत्पादन, रोजगारी, सीप र सामाजिक सुरक्षाको रूपान्तरणको अवधिका रूपमा उपयोग गर्न सके मात्र युवा जनशक्तिको वर्तमान अवसरलाई भविष्यको आर्थिक समृद्धिमा बदल्न सक्नेछ।
