हेटौँडा। बागमती प्रदेशको राजधानी हेटौँडास्थित सहिद स्मारकमा गत कात्तिक महिनामा ३६ हजार ७४० जनाले भ्रमण गरेका छन्। स्मारक कार्यालयका लेखा अधिकृत आशिष बिडारीका अनुसार उक्त अवधिमा प्रवेश शुल्कलगायतबाट २२ लाख २९ हजार ६५० रुपैयाँ आम्दानी भएको छ।
स्मारक क्षेत्रमा अवलोकन भ्रमण, वनभोज र चलचित्र छायांकनलगायतका लागि शुल्क निर्धारण गरिएको छ। यहाँबाट प्राप्त आम्दानी कर्मचारी व्यवस्थापन र पूर्वाधार विकासलगायतका काममा खर्च गरिने बिडारीले बताए।
हिउँद सुरु भएसँगै स्मारकमा वनभोजका लागि आउनेको सङ्ख्या बढ्ने गरेको छ। वनभोजका लागि नौ वटा व्यवस्थित स्थल (सेड) र खुला ठाउँको व्यवस्था गरिएको उनले जानकारी दिए।
एउटै ढुङ्गामा इतिहासका विभिन्न कालखण्डका सहिदका आकृति कुँदिएको सहिद स्मारकमा भक्ति थापादेखि २०४६ सालसम्मका सहिदलाई समेटिएको छ। ज्ञात तथा अज्ञात सहिदको प्रतिनिधित्व गर्ने महिला र पुरुषका अमूर्त आकृतिसमेत त्यहाँ राखिएका छन्।
स्मारकका प्रमुख आकर्षणमा मनमोहन वाटिका, जातीय सङ्ग्रहालय र चिडियाखाना छन्। मिनी चिडियाखाना, बुद्ध पार्क, धरहरा उद्यान, नर्सरी ग्रिन हाउस र फोहोरासहितको पार्कले पनि पर्यटकलाई आकर्षित गर्दै आएका छन्। पर्यटकलाई लक्षित गरी स्मारक वर्षभरि नै खुला राख्ने व्यवस्था गरिएको कार्यालयले जनाएको छ।
